काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले बनाएको १५ औं महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालाले नेपाली कांग्रेसका सभापति गगन थापाले नेताहरूमाथि कारबाही गरे आफूहरू पनि आफ्नै बाटो हिँड्ने प्रतिक्रिया दिएका छन्।
सभापति थापाले मंगलबार केन्द्रीय समिति बैठकमार्फत् देउवा पक्षमा लागेका नेताहरूप्रति लक्ष्य गर्दै ‘नयाँ पार्टी को महाधिवेशनमा लाग्ने हो भने प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहमा वहालवाला पदबाट राजीनामा दिन नभए कारबाही अघि बढाउने चेतावनी दिएका थिए।
यसबारे आज चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित बैठकमा सहभागी हुन पुगेका कोइरालालाई पत्रकारहरूले जिज्ञासा राख्दा उनले कारबाही गरे आफूहरू पनि आफ्नै बाटो हिँड्ने बताएका हुन्।
‘कसले कारबाही गर्ने ?’ प्रतिप्रश्न गर्दै शशांकले भने, ‘उहाँहरूले कारबाही गर्नुहुन्छ भने हामी के भन्न सक्छौं यसमारु हामी आफ्नो बाटो जान्छौं।’ देउवा पक्षले मंसिर २१ गतेदेखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारी गरेको छ।
यसैबीच निर्वाचन आयोगले असोज १८ देखि २३ गतेसम्म नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट गगन थापा नेतृत्वमा आएको कार्यसमिति र विधान अद्यावधिक गर्ने निर्णय गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…