ताजा अपडेट
समाचार

बालेन–मोदीले उद्घाटन गरेको रेल जनकपुर आइपुग्यो

बालेन–मोदीले उद्घाटन गरेको रेल जनकपुर आइपुग्यो

काठमाडौं । भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म जोड्ने नयाँ रेल सेवा ‘सरयू–कमला एक्सप्रेस’ जनकपुरधाम आइपुगेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भारतको नयाँदिल्लीबाट संयुक्त रूपमा भर्चुअल माध्यमबाट रेल सेवाको उद्घाटन गरेका थिए ।

उद्घाटनपछि अयोध्या धामबाट सोमबार दिउँसो १२.३० बजे प्रस्थान गरेको रेल मंगलबार बिहान १० बजे जनकपुरधाम आइपुगेको छ ।

जनकपुरधाममा विभिन्न सांस्कृतिक कार्यक्रम, परम्परागत झाँकी तथा स्वागत समारोहका बीच रेलको स्वागत गरेको छ ।

करिब ६०४ किलोमिटर दूरी पार गर्ने यो रेलले भारतको उत्तर प्रदेश र बिहार हुँदै नेपालको जनकपुरधामलाई जोड्नेछ । यात्राका क्रममा मन्कापुर, बस्ती, गोरखपुर, नरकटियागञ्ज, रक्सौल, सीतामढी, शिशो, मधुबनी र जयनगरलगायतका स्टेसनमा रोकिनेछ ।

१७ वटा डिब्बा रहेको यो रेलमा स्लीपर, एसी थ्री टियर, एसी थ्री टियर इकोनोमी र एसी टु टियरका सुविधा छन् । रेल सेवा सातामा एकपटक सञ्चालन हुने व्यवस्था गरिएको छ ।

रामको जन्मभूमि अयोध्या र माता सीताको जन्मभूमि जनकपुरधामलाई जोड्ने यो रेल सेवाले धार्मिक पर्यटन, सांस्कृतिक सम्बन्ध तथा नेपाल–भारतबीचको आवागमनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…