ताजा अपडेट
समाचार

मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याइएको दुई किलोभन्दा बढी सुनसहित दुई चिनियाँ नागरिक पक्राउ

मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याइएको दुई किलोभन्दा बढी सुनसहित दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने दुई किलो ३४८ ग्राम पहेँलो अर्धठोस पदार्थसहित दुई जना चिनियाँ महिला पक्राउ परेका छन्।

हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत सोमबार राति काठमाडौँ आइपुगेका उनीहरूलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार मिति मंगलबार राति अन्दाजी सवा ११ बजे काठमाडौँ ओर्लिएका ती महिलाहरूको गतिविधि शङ्कास्पद देखिएपछि चेकजाँच गरिएको थियो। त्यस क्रममा उनीहरूले प्लास्टिकले बेरेर आफ्नो मलद्वार तथा भित्री वस्त्रभित्र लुकाई–छिपाई ल्याएको अवस्थामा आठ थान गोलाकार अर्धठोस पदार्थ फेला परेको थियो। भन्सार क्षेत्र पार गरेर बाहिर निस्कने क्रममा प्लास्टिकको र्‍यापसहित दुई किलो ३४८ ग्राम तौल भएको उक्त वस्तु बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा चीनको ग्वाङडोङ स्थायी ठेगाना भएकी ४५ वर्षीया लिन लिना र ३५ वर्षीया लिन सिनपिङ रहेका छन्।

तीमध्ये लिनाको साथबाट प्लास्टिकसहित एक हजार ३४० ग्राम तौल भएका पाँच थान र सिनपिङको साथबाट एक हजार आठ ग्राम तौल भएका तीन थान सुनजस्तो देखिने गोलाकार अर्धठोस पदार्थ बरामद भएको छ।

घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिँदै विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले भने, ‘शङ्कास्पद रूपमा सुन लुकाएर ल्याएको फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।’

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाउने तयारी गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…