ताजा अपडेट
राजनीति

यस्ता छन् नेपाल र भारतबिच भएका ८ वटा महत्त्वपूर्ण समझदारी

यस्ता छन् नेपाल र भारतबिच भएका ८ वटा महत्त्वपूर्ण समझदारी

काठमाडौँ । प्रधानमन्त्री बालेनको भारतको राजकीय भ्रमणका क्रममा नेपाल र भारतबिच आठ वटा महत्त्वपूर्ण क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री बालेनको उपस्थितिमा प्राविधिक, शैक्षिक, प्रशासनिक, स्वास्थ्य, सञ्चार तथा कृषि क्षेत्रको विकासमा समझदारी भएका हुन् ।

भ्रमणका क्रममा सुरक्षा संयन्त्रको आधुनिकीकरण र अपराध अनुसन्धानको क्षमता अभिवृद्धिलाई उच्च प्राथमिकतामा राख्दै दुई वटा छुट्टाछुट्टै शैक्षिक तथा तालिमसम्बन्धी समझदारी भएका छन् । जसअनुसार भारतको गुजरातस्थित गान्धीनगरमा रहेको राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय (नेसनल फरेन्सिक साइन्सेज युनिभर्सिटी) र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबिच शैक्षिक तथा अनुसन्धान सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यस सहकार्यले नेपालको अपराध अनुसन्धान प्रणालीलाई वैज्ञानिक र प्रविधिमैत्री बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । त्यसैगरी सुरक्षा तथा प्रहरी प्रशिक्षणको क्षेत्रमा सहकार्य विस्तार गर्न भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय (आरआरयू) र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एनपीए)बिच पनि अर्को समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सार्वजनिक प्रशासनलाई थप प्रभावकारी र जनउत्तरदायी बनाउने उद्देश्यले निजामती सेवाको क्षमता विकासका लागि समेत महत्त्वपूर्ण सम्झौता भएको छ । भारत सरकारको प्रशासनिक सुधार तथा सार्वजनिक गुनासो विभागअन्तर्गतको राष्ट्रिय सुशासन केन्द्र र नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबिच नेपालका निजामती कर्मचारीहरूको क्षमता अभिवृद्धि तालिम कार्यक्रमसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

स्वास्थ्य क्षेत्रको सुदृढीकरण र परम्परागत चिकित्सा पद्धतिको प्रवर्द्धनका लागि पनि दुई देशबिच समझदारी कायम भएको छ । आधुनिक स्वास्थ्य तथा चिकित्साको क्षेत्रमा सहकार्य गर्न भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपाल सरकारको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयबिच समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

यस्तै, परम्परागत उपचार पद्धतिको संरक्षण, अनुसन्धान र प्रवर्द्धन गर्ने लक्ष्यका साथ आयुर्वेद र अन्य परम्परागत चिकित्सा प्रणालीको क्षेत्रमा सहकार्य गर्न नेपाल सरकार र भारत सरकारबिच अर्को समझदारी पत्रमा समेत हस्ताक्षर भएको छ ।

कृषि तथा ग्रामीण अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको पशु तथा मत्स्य क्षेत्रको उत्पादकत्व बढाउनसमेत दुई देश सहमत भएका छन् । पशुपालन र मत्स्यपालन विकासको क्षेत्रमा सहकार्य गर्न नेपाल सरकार र भारत सरकारबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

प्रविधि तथा सहरी पूर्वाधार विकासको क्षेत्रमा सहकार्य गर्न दुवै देशले अन्तरिक्ष प्रविधि र सहरी योजनामा साझेदारी गर्ने सहमति गरेका छन् । दक्षिण एसिया स्याटेलाइटको प्रभावकारी उपयोगका लागि स्याटेलाइट सञ्चार ९स्याटकम० नेटवर्क स्थापना गर्ने विषयमा भारत सरकारको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालयबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यस्तै, बढ्दो सहरीकरणका चुनौतीहरूलाई सम्बोधन गर्दै व्यवस्थित सहर निर्माण गर्न दिगो सहरी विकासको क्षेत्रमा प्राविधिक सहकार्यका लागि नेपाल सरकार र भारत सरकारबिच छुट्टै समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
यी हुन् समझदारीमा हस्ताक्षर भएका आठ विषय

१. फरेन्सिक विज्ञानमा सहकार्य : गुजरातको गान्धीनगरस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच अध्ययन तथा अनुसन्धानमा सहकार्य हुनेछ।
२. प्रहरी प्रशिक्षण: भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबीच समझदारी भएको छ।
३. प्रशासनिक अधिकारीहरूको तालिम : भारतको सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेज मिलेर नेपाली सरकारी अधिकारीहरूलाई प्रशिक्षण दिनेछन्।
४. आयुर्वेद र परम्परागत चिकित्सा:  दुवै देशले आयुर्वेद र उपचारका अन्य परम्परागत पद्धतिहरूमा सहकार्य गर्नेछन्।
५. स्याटेलाइट सञ्चार : भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको प्रयोगका लागि स्याटेलाइट सञ्चार नेटवर्क निर्माण गर्ने विषयमा समझदारी भएको छ।
६. सहरी विकास: दुवै देशले दिगो सहरी विकासको क्षेत्रमा प्राविधिक सहकार्य गर्नेछन्।
७. स्वास्थ्य र चिकित्सा:  भारत र नेपालले स्वास्थ्य सेवा र चिकित्साको क्षेत्रमा मिलेर काम गर्नेछन्।
८. पशुपालन र मत्स्यपालन : दुवै देशले पशुपालन र मत्स्यपालनको विकासका लागि सहकार्य गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…