Bagmati Samachar Logo

बाहिरबाट एमालेमाथि हमला भइरहेको समयमा अध्यक्ष हटाउने भन्दै रमिता देखाइयो : ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठकमा सरकार फासीवादी शैलीमा अघि बढीरहेको आरोप लगाएका छन् । सरकारले पार्टी र आफूमाथि निरन्तर प्रहार गरिरहेको बताएका छन् । उनले भने, ‘सरकार फासिवादी तरिकाले चलिरहेको छ । यस्तो बेलामा अध्यक्ष हटाउनुपर्छ भनेर रमिता देखाइयो । सरकारको शैलीको प्रतिवाद गर्नुपर्ने अवस्थामा महाधिवेशनबाट निर्वाचित नेतृत्वको विरुद्ध लागे ।’

केन्द्रीय किमिटीको बैठक उद्घाटनमा राखेका कुरा

अहिले हामी धेरै अप्ठ्यारो परिस्थितिमा, देश नै सङ्कटमा परेको बेला यो बैठक आयोजना गरिरहेका छौँ। हाम्रो सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधीनताविरुद्ध नै हमला भइरहेको छ।

सामान्य अवस्थामा केन्द्रीय कमिटीको बैठक छ महिना ननाघीकन बसिसक्नुपर्थ्यो। अझ अहिलेको जस्तो जटिल परिस्थितिमा त निर्वाचनलगत्तै बैठक बस्नुपर्थ्यो।

निर्वाचनमा हामीले किन पराजय भोग्यौँ, त्यसका कारणहरू के(के हुन्, तिनको सामना कसरी गर्छौँ र आगामी दिनमा कसरी अगाडि बढ्छौँ भन्ने ठोस निर्णयका साथ अघि बढ्नुपर्थ्यो।

त्यसरी अगाडि बढ्नुपर्नेमा दोस्रो बैठकको आठ महिनापछि बल्ल हामी यो तेस्रो बैठक आयोजना गर्दै छौँ। यस्तो विलम्ब नहुनुपर्थ्यो, भयोस अब फेरि यस्तो नहोस् भन्ने कुरामा ध्यान दिइनेछ।

अहिलेको परिस्थिति र समय विलम्ब हुनुमा केही मेरो बाध्यता पनि रह्यो। बुवाको निधन भएकाले १३ दिनजति म आफैँ अल्झिनुपर्‍यो। त्यसपछि तत्कालै मलाई गिरफ्तार गरियो, गिरफ्तारीका कारण अर्को १३ दिन छुट्यो।

त्यसबेला मेरो स्वास्थ्य स्थिति गम्भीर थियो, जसका कारण अप्रेसन गर्नुपर्‍यो। सानो अप्रेसन गर्न खोज्दा ठूलै अप्रेसन गर्नुपर्ने स्थिति आयो। अप्रेसनपछि निमोनिया भयो, ज्यानै जोखिममा पर्ने अवस्था बन्यो। निमोनिया अलि ठिक हुँदै गर्दा घाउमा इन्फेक्सन भयो, त्यसले पनि समय लियो। यसरी काबुबाहिरको परिस्थितिका कारण लगभग दुई महिना समय बित्यो।

त्यसपछि अहिलेका समस्याहरूको समाधान कसरी गर्न सकिन्छ, कमजोरी कहाँ भए भन्ने समीक्षा गर्न र बजारमा चलेका विभिन्न चर्चाहरू हस्तान्तरण, पुस्तान्तरण आदिलाई ध्यानमा राखेर पार्टीलाई नयाँ गति र नयाँ जीवन कसरी दिन सकिन्छ भन्नेमा हामी एउटा कार्यदल बनाउनेतर्फ लाग्यौँ।

त्यो कति उपयुक्त भयोरभएन, अहिले त्यसको धेरै समीक्षामा नजाऔँ। कार्यदलले काम गर्न अलि विलम्ब गर्‍यो— एक महिनाको समय दिइएकोमा चार महिना गुज्रियो। यसले गर्दा केन्द्रीय कमिटी त झन्डै बस्नै नसक्ने अवस्थामा पुग्यो।

कार्यदलकै बैठक चलिरहेको छ, प्रतिवेदन आएको छैनस प्रतिवेदनबिना सचिवालय बस्न सक्दैन र सचिवालय नबसी केन्द्रीय कमिटी बस्नु उपयुक्त हुँदैन भन्दाभन्दै विलम्ब हुँदै गयो।

हिजो बेलुका मात्र कार्यदलको प्रतिवेदन प्रस्तुत भयो। सचिवालयले बनाएको र सचिवालयकै अधिकांश नेताहरू सम्मिलित कार्यदल भएकाले त्यो प्रतिवेदन सचिवालयकै ‘प्रपर्टी’ थियो।

सचिवालयले त्यो बुझेर आफ्नो सम्पत्तिको रूपमा राख्यो र त्यसलाई समेत ध्यानमा राखेर अध्यक्षको प्रतिवेदन तयार भयो। यसले गर्दा हामीलाई समयको निकै चापाचाप भयो। भर्खरै पनि ११ बजेसम्म सचिवालय बैठक गरेर हामी यहाँ केन्द्रीय कमिटीको बैठकमा आएका छौँ।

यसैबीच भदौ १० गते भोटेकोशीमा आएको बाढीले अकल्पनीय क्षति पुर्‍यायो। हाम्रा पुस्ताले कतै नपढेको, नदेखेको र नजानेको खालको अभूतपूर्व मानवीय, भौतिक र जनधनको भयानक तथा असाधारण क्षति भयो। त्यस क्षतिपछि उद्धार र राहत कार्यमा हाम्रा साथीहरू लागे। म खुसी व्यक्त गर्न चाहन्छु— अरूले भन्दा हाम्रो पार्टीले आफ्ना तर्फबाट उद्धार र राहतमा ठोस काम गरेको छ, जनताको पीडामा मलहम लगाएको छ।

अर्कातिर, सरकारको असक्षमता, अकर्मण्यता र राज्यका साधन(स्रोतको दुरुपयोग आमजनताले देखेका छन्। राज्यस्तरबाटै कसरी अफवाह फैलाइयो भन्ने पनि देखिएको छ। बेलीब्रिज नबन्दै र सामान नै नआई ‘बेलीब्रिज बन्यो’ भनेर हल्ला चलाइयो, एआई नक्सा वितरण गरियो। एउटा खोला ९त्रिशूली० मा बेलीब्रिज हालियो भनेर अर्कै खोलाको फोटो खिचियो, जबकि त्रिशूलीमा अहिलेसम्म बेलीब्रिज हालिएकै छैन। बागमती प्रदेश सरकारलाई म धन्यवाद दिन चाहन्छु, जसले कमसेकम तत्काल तुइनको व्यवस्था गरेर वारिपारि आवतजावतको असुविधा हटाउने प्रयास गर्‍यो।

यस आपदामा अरूले पनि क्षति बेहोर्नुपरेको छ, तर सबभन्दा बढी प्रहार र क्षति नेकपा ९एमाले० ले बेहोर्नुपरेको छ। किनभने, राष्ट्रियताको पहरेदार एमाले हो। राष्ट्रियताका निम्ति यसले दृढ अडान र स्पष्ट दृष्टिकोण राखेकाले नै यसमाथि बढी केन्द्रित गरेर प्रहार गरिएको छ।

प्रचारात्मक हिसाबले एमालेमाथि झुटा लाञ्छना र अनेक आरोप लगाइएका छन्। यस्तो परिस्थितिमा स्वाभाविक रूपमा यस पार्टीको अध्यक्ष र नेताको हैसियतले ममाथि बढी आक्रमण केन्द्रित गरिएको छ। सामाजिक सञ्जाल, मिडिया वा अन्य माध्यमबाट अनेक हिसाबले प्रहार गरिएको हामी देख्न सक्छौँ।

सरकार बन्नेबित्तिकै पहिलो निर्णय केपी ओलीलाई गिरफ्तार गर्नेबाट सुरु हुन्छ। रातभरि तयारी गरेर बिहान उज्यालो हुन नपाउँदै एमाले अध्यक्षलाई गिरफ्तार गरिन्छ। बिनाआरोप, बिनाकारण, ‘विशेष पक्राउ पुर्जी’ भन्ने एउटा जाली र प्रतिशोधपूर्ण पुर्जीमार्फत गैरकानुनी गिरफ्तारी गरियो। बिनाकसुर पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीलाई १३ दिनसम्म हिरासतमा राखेर बलजफती मुद्दा चलाउन खोजियो। यो चानचुने कुरा होइन। लोकतन्त्रमा यस्तो हुँदै हुँदैन। यहाँ अधिनायकवाद स्थापना गरेर त्यसैलाई लागू गर्दै अगाडि बढ्न खोजिएको स्पष्ट छ।

त्यस अधिनायकवाद, हाम्रो लोकतान्त्रिक प्रणालीमाथिको हमला र मिचिएको संविधानका विरुद्ध हामीले सङ्घर्ष गर्नुपर्नेछ। असंवैधानिक ढङ्गले विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापना गरिनुपर्छ। दमनका बीच एरिया बन्दी गरेर, कतै जान नपाउने गरी पासपोर्ट रोक्का गरेर चुनाव घोषणा गरियो। प्रहरीबाट खोसिएका हतियार अपराधीसँगै छन्, जेलबाट भगाइएका कैदीहरू बाहिरै छन्, राज्य आतङ्क र मिडिया ट्रायल जारी छ। हरेकलाई गिरफ्तार गर्ने, धम्काउने, तर्साउने र जाली मुद्दा लगाउने सिलसिला चलिरहेकै छ।

त्यस्तो अवस्थामा निर्वाचनको एउटा नाटक मञ्चन गरियो। देशलाई नै त्रसित र कक्रक्क पारेर ‘शान्तिपूर्ण चुनाव’ भनियो। कसैको बोल्ने अवस्थै नभएपछि त चुनाव शान्तिपूर्ण हुने नै भयो१ आवाज निकाल्यो भने बोल्दाबोल्दै गिरफ्तार गरिएको हामीले देख्यौँ। अस्तिका दिन भरत दाहाललाई बोल्दाबोल्दै कार्यक्रमस्थलबाट गिरफ्तार गरियो। उहाँले त्यहाँ के बम पड्काउनुभएको थियो ररु बोली मात्र चलाउनुभएको त हो। विश्लेषकहरूको विश्लेषण कहिलेकाहीँ ठिक हुन सक्छ, कहिले त्रुटिपूर्ण पनि हुन सक्छ। तर, यस प्रकारको गिरफ्तारी वाक् स्वतन्त्रतामाथिको हमला हो र यो फासीवादतर्फको यात्राको निरन्तरता हो भनेर हामीले बुझ्नुपर्छ।

यस्तो अवस्थामा हाम्रै पार्टीभित्र भने हामी एकजुट र एकढिँक्का भएर यो प्रतिकूलता र फासीवादी हमलाको प्रतिकार गर्न अगाडि बढ्नुपर्थ्यो। तर, पार्टीभित्रै केही व्यक्ति र तत्त्वहरू समस्या सिर्जना गर्न उद्यत भए। पार्टीभित्रको बहस कमिटीभित्र छलफल हुन सक्थ्यो, तर मिडियामा गएर खुलेआम ‘अध्यक्ष हटाउनुपर्छ, अध्यक्ष असान्दर्भिक भयो’ भन्दै बोल्ने न्यायाधीश को होरु तपाईं पार्टीमा हुनुहुन्छ भने पार्टीभित्र, कमिटीमा छलफल गर्नुस्, राय राख्नुस्। बाहिर गएर रमिता देखाउने, पार्टीको प्रतिष्ठा कमजोर पार्ने र विपक्षीको मनोबल उठाउँदै उनीहरूलाई खुसी बनाउने क्रियाकलाप हुनु हुँदैन। यस्तो अराजकतालाई नियन्त्रण गरेर पार्टीलाई अनुशासित र एकताबद्ध बनाई अगाडि बढाउनुपर्ने परिस्थिति सिर्जना भएको छ।

एक जना साथीले हिजो मात्र सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्नुभएको देखेँ— ‘मन, मुटु, मस्तिष्क, किड्नी केही पनि नभएको, साना हातखुट्टा भएको, हड्डीलाई छालाले मात्र बेरेको जस्तोलाई के भनिन्छरु’ भनेर प्रश्न राख्नुभएको रहेछ। किन त्यो प्रश्न राख्नुभयोरु कसका विरुद्ध र के भन्न खोज्नुभएको होरु म त्यसको अर्थतर्फ नजाऊँ। तर त्यसपछिका कमेन्टहरूमा ‘यसरी घुमाएर होइन, सोझै ठोक्नुपर्छ’ भनेर विरोधीहरूले खेल्ने ठाउँ पाएका छन्। म आग्रह गर्न चाहन्छु— विरोधीले खेल्ने यस्ता ठाउँ दिने, असावधानीका साथ स्टाटस लेख्ने, अपलोड गर्ने र कमेन्ट गराउने तरिका स्वस्थ हुन सक्दैन।

पार्टीमा खुला र छलफल हुनुपर्छ। तर अहिले अनुशासनमा आफ्नै पार्टी कमजोर देखिनु धेरै दुःखद् कुरा हो। यो त इस्पाती अनुशासन भएको र महान् अभिभारा बोकेको पार्टी हो। त्यसैले यसलाई वैचारिक र साङ्गठनिक रूपमा एकताबद्ध, अनुशासित र गतिशील पार्टी बनाउनुपर्छ। चुनौतीहरूको सामना गर्न सक्ने पार्टीका रूपमा उभ्याउनुपर्छ।

अस्ति मङ्सिर २७ गते ११औँ महाधिवेशन प्रारम्भ भयो। पुस ३ गते नीति, विचार, विधि, विधान र नेतृत्व चयन गरेर लोकतान्त्रिक ढङ्गले सबै कुरा टुङ्ग्याएर अगाडि बढ्यो। महाधिवेशन र यसका निष्कर्ष नमानेर धक्काको बहानामा अराजकता फैलाउनु उपयुक्त बाटो हुनै सक्दैन। त्यसैले म स्वस्थ, सभ्य र सङ्गठनात्मक विधिअन्तर्गत छलफलमा सरिक भई अगाडि बढ्न आह्वान गर्दछु।

अहिलेको परिस्थितिमा हामी यो बैठक बस्दै छौँ। यसका सामु थुप्रै अभिभाराहरू छन्। जनता हामीप्रति केही भ्रममा परेका छन्, हाम्रा विरुद्ध अल्मलिएका छन्। यी भ्रमहरूलाई हामीले चिरेर जानुपर्छ। छरिएका भ्रम र कुप्रचारको पछि कुद्ने वा तिनलाई मलजल गर्ने काम हाम्रा कार्यकर्ता पंक्तिले गर्नु हुँदैन। विरोधीले ‘वाह वाह’ गर्‍यो भन्दैमा मक्किहाल्नु बहादुरी होइन।

अब स्वयम्सेवक ९भोलेन्टियर० हरूलाई म भन्न चाहन्छु— तपाईंहरूको भूमिका एकदमै तटस्थ र निष्पक्ष हुनुपर्छ। कुनै प्रकारको आकार, प्रकार, चिह्न, सङ्केत वा इसारा गर्ने काम हुनु हुँदैन। राजनीतिक प्राणी भएकाले विचारमा केही लागेको हुन सक्छ, तर त्यो भावना अनुहारमा प्रतिबिम्बित हुनु हुँदैन। बैठकमा कुनै डिस्टर्ब नहुने गरी निश्चित दूरीमा बसेर केन्द्रीय कमिटीका सदस्यहरूलाई आवतजावत गर्न र विचार व्यक्त गर्न कुनै व्यवधान नपुग्ने वातावरण बनाउनुपर्छ। भोलेन्टियरहरूले अध्यक्षको निर्देशन पूर्ण रूपमा पालना गर्नुपर्नेछ।

यति भन्दै, अत्यन्तै ठूलो अभिभारा बोकेर प्रारम्भ भइरहेको यो बैठक— जसबाट देश र हाम्रा कार्यकर्ता पंक्तिले ठूलो अपेक्षा राखेका छन्— सोही अपेक्षाअनुसार सुसम्पन्न हुनेछ भन्ने विश्वासका साथ केन्द्रीय कमिटीको यो तेस्रो बैठक विधिवत् प्रारम्भ भएको घोषणा गर्दछु।