ताजा अपडेट
समाचार

भैरहवाबाट हवाई रुट दिन भारत सहमत,मोडालिटी बारे प्राविधिक परामर्श गरिने

भैरहवाबाट हवाई रुट दिन भारत सहमत,मोडालिटी बारे  प्राविधिक परामर्श गरिने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिने भारत भ्रमणका क्रममा नेपाल र भारतबीच अन्तर्राष्ट्रिय उडानका लागि थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयमा सहमति भएको छ ।

सहमतिअनुसार भारतले नेपाललाई भैरहवा रुट उपलब्ध गराउने छ । संयुक्त विज्ञप्तिको बुँदा नम्बर ८ मा भनिएको छ, ‘हाल एकतर्फी रहेको ‘बी३४५’ काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउन दुवै पक्ष सहमत भएका छन्। यस सम्बन्धमा मोडालिटीलाई अन्तिम रूप दिन तथा हाल छलफलमा रहेका दुवै पक्षका अन्य नागरिक उड्डयनसम्बन्धी प्रस्तावहरूलाई सम्बोधन गर्न प्राविधिक परामर्श गरिनेछ।‘

दुबै देशका प्रधानमन्त्रीको सम्बोधन पछि जारी संयुक्त वक्तव्यमा भारतले नेपाललाई भैरहवा रुट उपलब्ध गराउने उल्लेख छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहबीच सोमबार भएको द्विपक्षीय वार्तामा नेपालको लामो समयदेखिको हवाई रुटसम्बन्धी माग सम्बोधन गर्ने सहमति जुटेको हो ।

यससँगै नेपालको अन्तर्राष्ट्रिय हवाई उड्डयन क्षेत्रको एउटा महत्त्वपूर्ण कूटनीतिक अवरोध हट्ने अपेक्षा गरिएको छ ।

नेपालले एक दशकभन्दा लामो समयदेखि भारतसँग थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन माग गर्दै आएको थियो । विशेषगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्न भारतीय आकाश हुँदै नेपाल प्रवेश गर्ने थप रुट आवश्यक रहेको नेपालको तर्क रहँदै आएको थियो ।

हाल अन्तर्राष्ट्रिय उडानका लागि सीमित प्रवेशमार्गमा निर्भर रहनुपर्दा नेपालको हवाई उड्डयन क्षेत्र प्रभावित हुँदै आएको छ ।

बालेन शाहको भारत भ्रमणमा यो विषयलाई प्राथमिकतामा राखिएको थियो । भ्रमणअघि नै दुवै देशका अधिकारीबीच यसबारे छलफल भइरहेको थियो ।

हवाई रुटमा सहमति जुट्नु नेपालको हवाई पूर्वाधारमा भएको ठूलो लगानीको प्रतिफल प्राप्त गर्ने दिशामा पनि महत्त्वपूर्ण सुरुवात हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…