Bagmati Samachar Logo

पार्टीभित्रैका केही व्यक्तिले समस्या सिर्जना गरेर मलाई हटाउन खोजे: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैबाट केही व्यक्तिहरूले समस्या सिर्जना गरेको बताएका छन् ।

सोमबार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा उनले बाहिरबाट हमला भइरहेको बेलामा विरोधीलाई खेल्ने ठाउँ दिनका लागि पार्टीभित्रबाट नै लागेको बताएका छन् ।

उनले भने, ‘यतिबेला हामी एकजुट भएर, एकढिक्का भएर यस प्रतिकूलताको सामना गर्न, हामीमाथिको फाँसीवादी हमलाको प्रतिकार गर्न एकजुट भएर अघि बढ्नुपर्थ्यो । तर पार्टीभित्रै केही व्यक्ति र तत्वहरू पार्टीभित्रै समस्या सिर्जना गर्न उद्धत भए । समस्याको सिर्जना गरे ।’

पार्टीभित्रको बहस पार्टी समितिभित्रै छलफल गर्नपर्नेमा मिडियामा गएर भनेको भन्दै आपत्ति प्रकट गरे ।

उनले भने, ‘तर मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो, जस्ता कुराहरू बोल्ने ? तपाईं पार्टीमा हुनुहुन्छ भने पार्टीमा छलफल गर्नुस् न, बाहिर गएर जगहस्याँइ गर्ने, पार्टीको प्रतिष्ठा कमजोर पार्ने, विपक्षीको मनोबल उठाउने, विपक्षीलाई खुसी बनाउने, यस प्रकारका क्रियाकलाप हुन हुँदैन ।’

साथै, उनले अराजकतालाई नियन्त्रण गरेर अनुशासित पार्टी बनाउनुपर्नेमा जोड दिए ।

‘यस्तो अराजकतालाई नियन्त्रण गरेर पार्टीलाई अनुशासित बनाएर अघि बढाउनुपर्ने परिस्थिति सिर्जना भएको छ,’ ओलीले भनेका छन् ।
विपक्षीलाई खुसी बनाउने यस्तो प्रवृत्ति छोड्न पनि ओलीले निर्देशन दिए ।