Bagmati Samachar Logo

दुई तिहाइबाट अल्पमतमा परेर पनि एक महिनादेखि पद मै छन् सुदूरपश्चिमका मुख्यमन्त्री शाह

काठमाडौं । दुई तिहाइको बहुमतसहित सुदूरपश्चिमका मुख्यमन्त्री बनेका कमलबहादुर शाह विगत झण्डै एक महिनादेखि अल्पमतमा परेर बजेट समेत पास गर्न सकेनन् । तर पनि उनले राजीनामा नै नदिएर पदमा बसीरहेका छन् । जब कि दुई तिहाइको बहुमतबाट बजेट नै पास गर्न नसक्ने अवस्थामा पुगेका शाहले नैतिकताका आधारमा राजीनामा दिनु पर्ने हो तर उनले एक महिनासम्म बजेटको शुन्यतामा नै पद ओगटेर बसीरहेका छन् ।
प्रदेश सभामा सबै भन्दा ठूलो दल नेपाली कम्युनिसट पार्टी(नेकपा)ले उनलाई राजीनामा दिएर मार्ग प्रसस्त गर्न पनि आग्रह गर्यो । तर शाहले उल्टै आफूले संवैधानिक अधिकार प्रयोग गर्ने जवाफ फर्काएका भेटघाटमा सहभागी नेकपाका एक सांसदले बताए । ती सांसदले शाहको भनाइ भन्दै भने,‘मुख्यमन्त्री शाहले उल्टै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धोका दिएकाले आफू पुरै एक महिना मुख्यमन्त्री खान्छु । मसँग बेइमानी गर्नेहरुलाई अहिले नै राजीनामा दिदैँन । एक महिना मेरो संवैधानिक अधिकार हो । एक महिना पुुरा भएपछि राजीनामा दिन्छु । अहिले दिदैँन ढुक्क हुनुहोस् ।’

अल्पमतमा परेका शाहले यहि साउन २८ गते राजीनामा दिने भन्दै नेकपाका सांसदसँगको भेटमा भनेका थिए ।

जब कि शाहले प्रदेशसभामा विश्वासको मत पाउने कुनै आधार नै नभएको नेकपाका सांसदहरु बताउछन् । यहाँसम्म कि नेपाली कांग्रेसका प्रदेश सांसद प्रकाश देउवा विगत १०–११ महिनादेखि अमेरिकामा छन् । उनलाई साथ दिदैँ आएको एमालेले असारमा नै साथ छोडेको थियो । तर पनि शाहले कुनै राजनीतिक संस्कार नदेखाएर पदमा बसीरहेका छन् । एक महिना पछि उनी बाध्यताले राजीनामा दिनु पर्ने अवस्थामा छन् ।

मुख्यमन्त्रीले राजीनामा दिएसँगै सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ । नयाँ सरकार गठनका लागि नेकपा र एमाले बिच सहमति भइसकेको छ । सुदूरपश्चिममा नेकपाका संसदीय दलका नेता खगराज भट्टको नेतृत्वमा सरकार गठन हुने छ ।