गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गाडीमा ब्रेक नहुनेले सरकार र दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाएको बताएका छन् ।
बुधवार बीपी कोइरालाको स्मृति दिवसका अवसरमा ललितपुरमा आयोजित जलवायु जनचेतना दौड कार्यक्रममा सहभागी भएपछि आयोजित कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन्।
जलवायु परिवर्तनबारे सचेतना जगाउन आयोजित पाँच किलोमिटरको दौड विना कुनै विश्राम पूरा गरेपछि थापाले प्रधानमन्त्री बालेन्द्र साहले चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनका वर्तमान सरकारको गाडीमा ‘ब्रेक’ नरहेको र यो गन्तव्यमा पुगेपछि मात्र रोकिने अभिव्यक्ति दिएका थिए। कांग्रेस सभापति थापाले सोही भनाइलाई लक्षित गर्दै प्रतिपक्षको सक्रियतालाई पनि ‘ब्रेक’ विनाको दौडसँग तुलना गरेका हुन्।
‘म एकछिन पनि नरोकिई पाँच किलोमिटर दौडिएँ,’ सभापति थापाले भने, ‘मसँगै दौडिएका साथीहरूले ठट्टा गर्दै भन्नुभयो– गाडीमा ब्रेक नहुनेले सरकार चलाउने र दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने कुरा ठ्याक्कै मिलेको छ।’ उनले उक्त टिप्पणीलाई सहज रूपमा लिँदै ‘यसपालि यस्तै हो’ भनी जवाफ दिएको सुनाए।
थापाले जलवायु परिवर्तनको विषयलाई मुलुकको विकासको मुख्य एजेन्डा बनाउनुपर्ने बताए । उनले बीपी कोइरालाले तत्कालीन समयमा ‘समावेशी’ शब्दको प्रयोग नगरे पनि व्यवहारतः त्यसको सफल अभ्यास गरेको स्मरण गरे।
विकासको अवधारणाबारे चर्चा गर्दै उनले सामाजिक न्याय, मानव कल्याण र नैतिक जिम्मेवारी विनाको विकास अर्थहीन हुने उल्लेख गरे। बीपी कोइरालाले धेरै वर्षअघि नै वनको राष्ट्रियकरण र प्राकृतिक स्रोतमाथि न्यायपूर्ण पहुँचको विषय उठाएको स्मरण गर्दै थापाले ती दूरदर्शी विचारहरूलाई वर्तमान समयमा पनि आत्मसाथ गर्नुपर्ने बताए।
पार्टीको आगामी कार्यदिशाबारे प्रस्ट पार्दै सभापति थापाले आजको नेपाली कांग्रेस भविष्यप्रति आशावादी रहेको तर भविष्यको मार्ग कोर्न इतिहासबाट सिक्न जरुरी रहेको बताए। अग्रजहरूले देखाएको बाटो र उहाँहरूका विचारलाई आधार मानेर जलवायु परिवर्तनको मुद्दालाई विकासको मूल प्रवाहमा जोड्न प्रतिबद्ध रहेको उनले बताए।
‘आज हामीले जननायक बीपी कोइरालालाई जलवायु परिवर्तनसँग जोडेर सम्झियौँ,’ सभापति थापाले भने, ‘बीपी कोइरालाले ‘जलवायु परिवर्तन’ भन्ने शब्द प्रयोग गर्नुभएको थियो वा थिएन, त्यो छुट्टै कुरा हो। तर के बीपी कोइरालाले समावेशी भन्ने शब्द प्रयोग गर्नुभएको थियो ? त्यो पनि थिएन।’
उनले अगाडि भने, ‘दक्षिण एसियामै कुनै महिलाले सरकारमा सहभागिता जनाउने अवसर प्राप्त नगर्दै गर्दा आफ्नै मन्त्रिमण्डलमा महिलालाई सहभागी गराएर, दलित समुदायका प्रतिनिधिलाई पार्टीको महामन्त्री बनाएर तथा सबै जातजाति र भाषाभाषीलाई समेटेर संसद् र मन्त्रिमण्डल गठन गरी बीपी कोइरालाले त्यही बेला नेपालको लोकतन्त्र समावेशी नभईकन अगाडि बढ्यो भने त्यो लोकतन्त्र पूर्ण हुँदैन भन्ने कुरा हामीलाई सिकाउनुभयो।’
विकासका मुद्दाका सन्दर्भमा बोल्दै उनले थपे, ‘जब तपाईं विकासको कुरा गर्नुहुन्छ, त्यहाँ सामाजिक न्यायलाई छोड्नुभयो भने, मानव कल्याणलाई छोड्नुभयो भने, लोककल्याणलाई छोड्नुभयो भने, नैतिक अधिकार र नैतिक जिम्मेवारीका विषयलाई छोड्नुभयो भने, दूरदर्शिताको विषयलाई छोड्नुभयो भने, तथा विकास दिगो हुन्छ कि हुँदैन भन्ने प्रश्नलाई बेवास्ता गर्नुभयो भने, त्यस्तो विकासको कुनै अर्थ हुँदैन।’
उनका अनुसार धेरै वर्षअघि नै विकासका बारेमा बीपी कोइरालाले चर्चा मात्र नगरी आफैँ अभ्यास पनि गरेका थिए। ‘बीपी कोइरालाको पालामा वनको राष्ट्रियकरण गर्नुपर्छ, प्राकृतिक स्रोतहरू– चाहे वन होस् वा भूमि– माथि न्याय हुनुपर्छ, तिनलाई न्यायको दृष्टिले हेर्नुपर्छ भन्ने सोच विकसित गरिएको थियो,’ थापाले भने, ‘तर हामी बीपीका अनुयायीहरूले धेरै पछि विकासको प्रतिस्पर्धामा लागिरहँदा ती विषयहरू बिर्सियौँ।’
पार्टीको आगामी दिशाबारे बोल्दै थापाले भने, ‘आज नेपाली कांग्रेस अगाडि हेर्न चाहन्छ। आज यहाँ उपस्थित सबै साथीहरू भविष्यप्रति र नेपाली कांग्रेसप्रति विश्वास लिएर आउनुभएको छ। तर भविष्यतर्फ पाइला चाल्दै गर्दा हामीलाई थाहा छ, वर्तमानमा इमानदार हुनुपर्छ। र सिक्नका निम्ति हामीले विगततर्फ फर्केर पनि सिक्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्: