Bagmati Samachar Logo

गोमा तामाङले पार्टी छोड्दै भनिन् – माथिको ह्विप भन्दै हराइयो

काठमाडौं । कोशी प्रदेशको अधिवेशनमा प्रदेश सभापतिमा पराजीत भएपछि गोमा तामाङले राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर पार्टी छाडेको बताएकी हुन्।

उनले लेखेकी छिन् । ‘आजदेखि राजनीतिबाट बिट मारेँ। मतदाता सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’
कोशी प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा तामाङ पनि सभापतिको उम्मेदवार थिइन् ।

सभापतिमा २८० मत ल्याएर चन्द्र राई विजयी भएका छन्। कुल खसेको ४९० मतमध्ये राईले ५१ प्रतिशत पूरा गरेकाले उनी सभापति निर्वाचित भइसकेका छन्।

तामाङले १४१ मत ल्याइन् भने सभापतिका प्रत्यासी खगेन्द्र कटुवालले ४१ र चन्द्रकुमार गौलीले २७ मत ल्याए।

निर्वाचनमा पछि परेलगत्तै राजनीति छाडेको घोषणा गरेकी तामाङ यसअघि प्रतिनिधिसभा निर्वाचनमा पनि पराजित भएकी थिइन्। उनी सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचनमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसँग पराजित भएकी हुन्।

तामाङ रास्वपाको कोशी प्रदेशका संस्थापकमध्ये हुन्। उनी अघिल्लो निर्वाचनमा पनि त्यही क्षेत्रबाट उम्मेदवार थिइन्। पार्टीको कोशी प्रदेश समितिको कार्यवाहक सभापतिको भूमिकामा थिइन्।

राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी गोमा तामाङले आफूलाई माथिको ह्विप भन्दै प्रदेश सभापति हराइएको आरोप लगायकी छिन् ।

सामाजिक सञ्जालमा फेसबुकमार्फत उनले सेटिङ गरेर प्यानल बनाउन नसक्दा हारेको बताएकी छन्। उनले आफूलाई हराउन केही सांसद लागेको पनि बताएकी छन्।

‘आखिर माथिको ह्विप भन्दै हराएरै छाड्यौ। माननीय तृतीयज्यू र केन्द्रीय सदस्यज्यू धन्यवाद१ तपाईं चौथोज्यूहरूलाई। सायद अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले,’ उनले भनेकी छन्।

गुटबन्दीको घाउले कोशीलाई पिरोल्ने बताएकी छन्।

‘यो मेरो सोझो सिधापन आज दुखाइ भो सबैलाई। हजुरीको राजनीति गर्नै जानिनँ। कमजोरी भयो मेरो,’ उनले भनेकी छन्।

प्रदेश अधिवेशनमा मतगणनामा पछि परेपछि गोमा तामाङले आजै राजनीति छाडेको घोषणा गरेकी थिइन्। उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर राजनीति छाडेको बताएकी हुन्।