Swornakshar Logo

विप्लवका मध्यकमाण्ड इन्चार्ज ओलीसहित ६ जना जेल चलान

१० वैशाख । काठमाडौं । विप्लव नेतृत्वका नेकपाका मध्यकमाण्ड इन्चार्ज हेमन्त प्रकाश ओली ‘सुदर्शन’ सहित ६ जना पुर्पक्षको लागि जेल चलान भएका छन् ।

मंगलबार ललितपुर जिल्ला अदालतले थुनछेक बहसपछि बिस्फोटक पदार्थ (बम) विस्फोटमा संलग्न रहेको भन्दै उनीहरुलाई नख्खु कारागार पठाउन आदेश दिएको हो ।

ओलीसहित शिव धमला भन्ने शिव धिमाल, दयाङ भन्ने दिकेन्द्र राई, रामकृष्ण खतिवडा, ईश्वर परियार भन्ने ईश्वर दमाई, विर बहादुर कठायतलाई थुनामा पठाउन अदालतले आदेश दिएको हो ।
गत फागुन १० गते नख्खुस्थित एनसेल कार्यालयको गेट अगाडि बम विस्फोट गराइएको थियो । विस्फोटबाट एकजनाको मृत्यु भएको थियो भने २ जना घाइते भएका थिए ।

घटनाको भोलीपल्ट ओलीले एक विज्ञप्ति जारी गर्दै एनसेल घटनाको जिम्मा लिएका थिए । घटनाको जिम्मा लिएको एक महिनापछि प्रहरीले ओलीलाई काभ्रेको खानीखोला गाँउपालिका–७ बाट नियन्त्रणमा लिएको थियो ।