Swornakshar Logo

कमल थापाको चेतावनीः विप्लवलाई होइन,बालुवाटार र सिंहदरवारका लुटेरालाई कारवाही गर्नुस्

१ चैत । काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी ओलीलाई विप्लवलाई होइन बालुवाटार र सिंहदरबारमा भएका लुटेराहरुलाई कारवाही गर्न माग गरेका छन् । उनले अहिले नेपालमा लोकतन्त्रको नाममा लुटतन्त्र चलिरहेको बताएका छन् । अध्यक्ष थापाले काठमाडौंमा मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको समापन समारोहलाई सम्बोधन गर्दै विप्लवलाई होइन बालुवाटार र सिंहदरबारका लुटेरालाई कारवाही गर्नु पर्ने बताए ।
त्यस्तै उनले पहिला बन्दुक बोक्न लगाउनेहरुले हाल शहरमा ठुला महल बनाएको र बन्दुक बोक्नेहरु खाडी मुलुकमा जान बाध्य भएको भन्दै वर्तमान सरकारको चर्को आलोचना गरे । उनले राजादेखि विप्लवहरुसम्म अटाउने पार्टी राप्रपा भएको दाबी समेत गरे ।
‘चाहे एनसेलको ४० अर्बको कर छलि होस् वा बाइडबडी खरिद प्रकरण अथवा ३८ क्वीन्टल सुन तस्करी प्रकरण नै किन नहोस् ठुला पार्टीको आडमा भएकाले अपराधी पत्ता लाग्दैनन्’ अध्यक्ष थापाले भने, ‘प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिन र गर्नेको अनुहार नहेर्ने भन्नुभएको छ । प्रधानमन्त्री ज्यु तपाई भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्नुहुन्छ भने एनसेल, सुन तस्करी र वाइडबडी प्रकरणका अपराधीलाई कारवाही गरेर देखाउनुस्, जनता तपाइका ऋणी हुनेछन् ।’
अध्यक्ष थापाले विप्लवको नेकपालाई लुटेरा समुह भनेको सुनेको भन्दै वाइडबडी, एनसेल र ३८ क्वीन्टल सुन तस्करी काण्डका वास्तविक लुटेराहरु बालुवाटार र सिंहदरवार वरिपरि रहेकाले उनीहरुलाई प्रतिबन्ध लगाउन चुनौती दिए । उनले सिके राउतसँग भएको सहमति राष्ट्रहितविपरित र रहस्यमय रहेको भन्दै सहमतिमा राउतले देश टुक्र्याउने काम नगर्ने भनेर नभनिएकोमा सरकारको कमजोरी रहेको बताए ।

सभाअघि ललितपुरबाट स्वाभिमान यात्रा सुरु गरी भक्तपुर पुगेको थियो । यात्रा भक्तपुरबाट काठमाडौं फर्किएर विभिन्न स्थान हुँदै डिल्लीबजारबाट कलशयात्रासहित भृकुटी मण्डपमा पुगेर सभामा परिणत भएको थियो ।
ताप्लेजुङबाट सुरु भएको १५ दिने यात्रा विभिन्न जिल्ला हुँदै काठमाडौं आइपुगेपछि प्रदर्शनसहित समापन गरिएको हो । सभालाई अध्यक्ष थापा, नेताहरू दीपक बोहरा बुद्दिमान तामाङ लगायतले सम्बोधन गरेका थिए ।