Swornakshar Logo

प्रधानमन्त्री प्राथमिकताका आधारमा मात्र कार्यक्रममा सहभागी हुने

३० कार्तिक । काठमाडौं । प्रधानमन्त्री केपी ओली प्रथामिकता हेरेर कार्यक्रमा सहभागी हुने भएका छन् ।

प्राथमिकतालाई हेरेर मात्र कार्यक्रमा सहभागी भए राम्रो हुने थियो भन्ने सल्लाह सुझाव धेरै आएकाले सोही अनुसार कार्यक्रमहरुमा सहभागीता जनाउने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए ।

बिहीबारबाट राजधानीमा शुरु भएको कोलम्बो प्रोसेसको सम्मेलन अन्तर्गत आज शुक्रबार हुने मन्त्रीस्तरीय बैठकमा सहभागी हुन प्रधानमन्त्रीलाई निम्ता दिएको थियो ।

तर उक्त बैठकमा प्रधानमन्त्री सहभागी भएनन् । अर्यालले भने ‘आजको बैठकमा जाने नजाने फिक्स भएको थिएन । तर कामको व्यस्तताको कारण सहभागी हुनु भएन ।’

वैदेशिक रोजगारीमा कामदार आपूर्ति गदै आएका राष्ट्रहरुको साझा संस्था कोलम्बो प्रोसेसको शुक्रबार बिहान ११ बाट बैठक सुरु भएको छ । त्यो बैठक सम्बोधन गर्न ओलीलाई निमन्त्रणा दिएको थियो ।

राजधानीमा हुने र निमन्त्रणा आएका जुन सुकै कार्यक्रममा ओली सहभागी हुन्थे । यही कारण उनको आलोचना पनि हुन्थ्यो । स्वास्थ्यको पनि खासै ख्याल नगरेर कार्यक्रममा सहभागी हुन्थे ।

यही महिनाको ६ गते राजधानीमा विद्युतीय बसको उद्घाटन गरेका थिए । प्रधानमन्त्री ओली कार्तिक १२ गते स्वास्थ्यमा समस्या आएपछि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भाक्ुलरमा भर्ना भएका थिए । ५ दिनको उपचारपछि ओली १६ गते सरकारी निवास बालुवाटार फर्केका थिए ।

उनको उपचारमा संलग्न डाक्टरले उहाँ पूर्ण रुपमा स्वथ भएको बताएका छन् । डा। अरुण सायमीले प्रधानमन्त्री ओली पूर्ण स्वस्थ भइसक्नु भएको बताएका छन् ।
अर्यालले भने ‘आज शुक्रबारको कार्यक्रममा स्वास्थ्यका कारण नभएर व्यस्तताका कारण सहभागी हुन नसक्नु भएको हो । आन्तरिक भेटघाट र छलफल भएकाले त्यसमा नै व्यस्त हुनु भएको हो । कामको महत्वलाई हेरेर सहभागी हुने नहुने भन्ने भएर हो ।’

ओलीले यसरी कार्यक्रमको प्राथमिकतालाई ध्यान दिएर कार्यक्रममा सहभागी भए पदको गरीमा पनि बच्थ्यो । उनको स्वास्थ्य पनि राम्रो हुन्थ्यो । उनको २०६४ साल असारमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

उनी अहिले नियमित औषधी खान्छन् । प्रत्यारोपण भारतमा गरे पनि पछिल्लो समय त्यसको फ्लोअप भने थाइल्याण्डको बैंककमा रहेको बुम्रङग्रण्ड अन्तर्राष्ट्रिय अस्पतालमा गर्दै आएका छन् । गत बर्ष पुसमा थाइल्याण्ड गएर फलोअप गराएका थिए । त्यसपछि भने ओली उपचारको लागि विदेश गएका छैनन् ।

१६ गते अस्पतालबाट डिस्चार्ज भएपछि प्रधानमन्त्री ओलीले दैनिक कामहरु सरकारी निवास बालुवाटारबाट गदै आएका छन् । उसो त उनले अस्पतालमा हुँदा पनि केही मन्त्रीहरुलाई बोलाएर छलफल गरेका थिए ।

बालुवाटारमा नै सक्रिय

नेपालका अहिलेका प्रधानमन्त्रीहरुले बढी बालुवाटारबाटै सत्ता संचालन गदै आएका छन् । बालुवाटारबाट सत्ता संचालन गर्नेमा गिरिजाप्रसाद कोइराला पहिलो पंक्तिमा पर्छन । उनले सत्ता संचालन सिंहदरबारबाट भन्दा पनि बढी बालुवाटारबाट गरेका थिए । त्यसको निरन्तरता केपी ओली दिइरहेका छन् ।

नेकपा एमाले र माओवादी केन्द्रबिच एकता भएपछिको केन्द्रीय सदस्यहरुको शपथग्रहण पनि बालुवाटारमा नै भएको थियो । जब कि नेकपाका दुई पार्टी कार्यालय छन् ।अहिले पनि नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको बैठक बालुवाटारमा नै बस्छ ।

जबकि पार्टीका काम गर्न धुम्बाराही र पेरीसडाँडामा कार्यालय छन् । तर ती कार्यालय सुनसान छन् । न त पार्टीका बैठक बस्छन् न त कुनै जनवर्गीय संगठनका ।त्यसपछि भने लक्ष्मीप्रसाद देवकोटाको कार्यक्रममा सहभागी भएका थिए । त्यो दिन पनि ओलीले २० मिनेट भाषण गरेका थिए । उक्त कार्यक्रम पनि बालुवाटारमा नै आयोजना गराएका थिए ।

ओलीले त्यो दिन देवकोटाको घर किनेर संग्राहलय बनाउने घोषण गरेका थिए । प्रधानमन्त्री केपी ओलीले सरकारी काम पनि बालुवाटारबाट नै गर्ने गरेका छन् । क्याबिनेट बैठक देखि विभिन्न देशका कुटनीतिक नियोगका व्यक्तिसँगका भेटघाटसम्म ।

अझ कार्यकर्ता र नेतासंगको भेटघाट पनि बालुवाटारमा नै गर्ने गरेका छन् । भदौमा त ओली वंशको कार्यक्रम नै बालुवाटारमा भएको थियो । त्यसका प्रमुख अतिथि नै प्रधानमन्त्री ओली थिए । जुन कार्यक्रमको धेरे आलोचना भएको थियो ।

ओलीले बिहीबार र शुक्रबार पनि विभिन्न देशका राजदूत र अन्य व्यक्तिहरुलाई बालुवाटारमा नै भेटघाट गरेका छन् । हिजो बिहीबार संयुक्त राष्ट्रसंघका उपमहासचिव अमिना जे मोहम्मदलाई बालुवाटारमा नै भेटेका थिए ।

उनी शिक्षासम्बन्धी अन्तर्राष्ट्रिय अभियानमा भाग लिन बुधबार नेपाल आएकी हुन । अभियान शुक्रबार शुरु भएको छ ।