Swornakshar Logo

प्रदेश १ को राजधानी तोक्नेबारे छलफल शुरु

१४ असोज
काठमाठमाडौं । सरकार गठन भएको झन्डै एक वर्ष पुग्दा पनि प्रदेशको राजधानी र नाम टुंगो नलागेको भन्दै आलोचना भएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले छलफल सुरु गरेका छन् । राईले पहिलो चरणमा नेकपाका सांसदसँग अनौपचारिक छलफल गरेका छन् ।

मुख्यमन्त्री राईले मोरङ, उदयपुर र संखुवासभाका सांसदसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै छुट्टाछुट्टै छलफल गरेका हुन् । अधिकांशले इटहरी, धरान वा धनकुटालाई प्रदेशको राजधानी बनाउन सुझाब दिएको छलफलमा सहभागी एक सांसदले बताए ।

मोरङका सांसदहरूले भने विराटनगर नै पायक भएको बताएका थिए । संखुवासभाका सांसद तुलसीप्रसाद न्यौपानेले प्रदेशको राजधानी र नामका विषयमा धेरै आलोचना भएकाले दुवै विषयलाई चाँडो टुंग्याउन सुझाब दिएको बताए । आजको नयाँ पत्रिकामा समाचार छ ।

‘१४ वटा जिल्लाका माननीयहरूको बहुमत कायम गरी सबै क्षेत्रका जनतालाई सुविधा हेरेर मात्र राजधानी तोक्न सुझाब दिएका छन्,’ उनले भने ।

सोलुदेखि संखुवासभा र ताप्लेजुङका जनतालाई समेत पायक पर्ने स्थानमा राजधानी हुनुपर्ने उनको भनाइ छ । सहरी चापभन्दा केही पर सुनसरीको कुनै स्थानमा जमिन लिएर विस्तार गर्न सकिने पनि उनले सुझाब दिएका छन् ।

विराटनगरमा भने सुरक्षा चुनौती भएको उनको भनाइ छ ।

‘बोर्डरसँग जोडिएको क्षेत्रमा प्रदेश राजधानी राख्न अनुपयुक्त भएको सबै माननीयलाई थाहा छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘विकटका जनताको भावनालाई बुझेर राजधानी कायम गराउनुपर्छ ।’