ताजा अपडेट
राजनीति

भावुक हुँदै रविले सम्झिएँ पार्टी दर्ता गर्दा नागरिकता जुटाउन परेको सकसदेखि प्रहरीले हत्कडी लगाएकोसम्म

भावुक हुँदै रविले सम्झिएँ पार्टी दर्ता गर्दा नागरिकता जुटाउन परेको सकसदेखि प्रहरीले हत्कडी लगाएकोसम्म

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन प्रक्रिया आइतबारदेखि चितवनको भरतपुरमा सुरु हुँदै छ ।

महाधिवेशनको औपचारिक सुरुवात हुनुअघि भरतपुरस्थित दियालो फुडल्यान्डमा पार्टीको अन्तिम केन्द्रीय समितिको बैठक बसेको छ ।

महाधिवेशनअघि बसेको यो अन्तिम बैठकमा पार्टी सभापति रवि लामिछानेले वर्तमान केन्द्रीय समितिलाई सम्बोधन गर्दै निकै भावुक र सुझबुझपूर्ण धारणा राखेका छन् । उनले उपस्थित सदस्यहरूलाई देशप्रेमले ओतप्रोत र सुन्दर आकांक्षा बोकेका अनुहारको संज्ञा दिँदै भविष्यमा पनि यसरी नै सहकार्य गर्ने इच्छा व्यक्त गरे ।

सम्बोधनका क्रममा सभापति लामिछानेले पार्टीको आन्तरिक लोकतन्त्रलाई सबैभन्दा महत्त्वपूर्ण आधार स्तम्भका रूपमा व्याख्या गरे । उनले भने, ‘आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउनका निमित्त संस्थापक सभापतिका रूपमा मैले कति भूमिका निर्वाह गरेँ, त्यो यहाँहरूको मूल्याङ्कनको विषय हो । तर, मेरो लागि निष्ठा र आन्तरिक लोकतन्त्र कुनै सम्झौता गर्ने विषय होइनन् ।’

सभापति लामिछानेले बैठकको सुरुवातमै सबै निर्वाचित सदस्यहरूलाई शुभकामना दिँदै लोकतन्त्रप्रतिको आफ्नो प्रतिबद्धताबाट कहिल्यै विमुख नहुने प्रण गरेका छन् । महाधिवेशनले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । उनले आफ्नो राजनीतिक जीवनभरि यिनै मूल्य र मान्यतामा अडिग रहने प्रतिबद्धतासमेत जनाए ।

देशको वर्तमान राजनीतिक व्यवस्था र उपलब्धिको चर्चा गर्दै लामिछानेले संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र यहाँसम्म आइपुग्दा भएका त्याग र बलिदानको स्मरण गरे । उनले भने, ‘हामी हिजोका त्याग, बलिदान र संघर्षहरूको सम्मानको जगमा उभिएका छौँ र हामीलाई यसमा गर्व छ । हिजोको बलिदानको उचाइकै कारण आज हामीले यति फराकिलो दृश्य देख्न पाएका हौँ ।

आइतबारदेखि सुरु भई तीन दिनसम्म चल्ने यस महाधिवेशनमा देशभरबाट ३ हजारभन्दा बढी प्रतिनिधि, पार्टीका नेता, कार्यकर्ता तथा पर्यवेक्षकहरूको सहभागिता रहने जनाइएको छ ।

लामिछानेको भनाइ जस्ताको त्यस्तै

केन्द्रीय समितिको बैठकमा यो सुन्दर आकांक्षा बोकेका, रहर बोकेका, हुटहुटी बोकेका, देश प्रेमले ओतप्रोत यी अनुहारहरू मेरो अगाडि छन् । म तपाईहरू सबैलाई फेरि पनि निर्वाचित भइसकेपछि पनि देख्न, हेर्न, कुराकानी गर्न चाहन्छु । म सबैभन्दा पहिला यहाँहरू सबैलाई धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु ।

अर्को महत्त्वपूर्ण कुरा पार्टीको आन्तरिक लोकतन्त्र हाम्रा लागि असाध्यै धेरै महत्त्वपूर्ण कुरा हो । आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउनका निमित्त सभापतिका रुपमा, संस्थापक सभापतिका रुपमा कति भूमिका निर्वाह गर्न सकियो सकिएन, त्यो यहाँहरूले मूल्यांकन गर्नुभएको विषय होला । तर मेरो लागि निष्ठा र आन्तरिक लोकतन्त्र यो कुनै सम्झौता गर्ने विषय होइन । मैले त्यसमा कहिल्यै पनि सम्झौता नगर्ने वचनबद्धता प्रकट गरेको छु र म त्यसमा खरो उत्रिने प्रयास आफ्नो राजनीतिक जीवनभरि गरिरहनेछु ।

म बिदा हुनुअघि केन्द्रीय समितिलाई बैठक सुरु हुनु अगाडि र भोलि आउने केन्द्रीय समितिलाई यो संघारमा उभिएर म यहाँहरूलाई यति भन्न चाहन्छु, संघीय लोकतान्त्रिक गणतन्त्र, विभिन्न परिवर्तन, देशको संविधान, यो मुलुकलाई यहाँसम्म ल्याइपुर्याउँदा भएका त्याग, बलिदान, संघर्षहरूको सम्मानको जगमा हामी उभिएका छौँ र हामीलाई यसमा गर्व छ । हामी गर्वका साथ यो परिवर्तनको संघारमा उभिएका छौँ र हिजोको त्याग र बलिदानीको उचाइको काँधमा उभिएको हुनाले पश्चाताप होइन हामीलाई झनै हामी यति फराकिलो दृश्य देख्न पाइरहेका छौँ ।

त्यसैले म तपाईहरूलाई प्रतिबद्धताका साथ फेरि पनि भन्न चाहन्छु कि यी मूल्य र मान्यताहरू र लोकतन्त्र प्रतिको प्रतिबद्धताबाट हामी कहिल्यै विमुख हुनेछैनौँ, म कहिल्यै विमुख हुनेछैन । म यो कुरा यहाँहरूलाई आजको यो बैठकको सुरुवातमा नै बताउन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…