भलिबल खेलाडी पुनम चन्दलाई ७ दिनभित्र हाजिर हुन प्रहरी कार्यालयको निर्देशन
काठमाडौं । नेपाली राष्ट्रिय महिला टिम तथा नेपाल पुलिस क्लबकी भलिबल खेलाडी पुनम चन्दलाई सात दिन भित्र कार्यालयमा हाजिर हुन नेपाल प्रहरीले निर्देशन दिएको छ ।
नेपाल प्रहारी प्रधान कार्यालयले २०८३ जेठ ११ गते सूचना जारी गर्दै पुनम लगायत ११ जनालाई गैर हाजिरमा रहनुको कारण स्पष्ट खुलाई सन्तोषजनक स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो ।
प्रहरी जवान पुनम चन्द २०८२ चैत १५ गतेदेखि गैरहाजिर रहेको प्रहरी कार्यालयले जनाएको छ । पुनम लगायत प्रहरी कर्मचारी आफूखुशी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा–गराउँदा तथा प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएको भन्दै पत्रिकामा सूचना जारी गर्दै सात दिनभित्र हाजिर हुन भनेको हो ।
नेपाल भलिबल संघले काभा महिला भलिबल च्याम्पियनसिपका लागि राखेको बन्द प्रशिक्षणमा पुनम समावेश भएकी थिइन् । तर अहिले नेपालमा महिला काभा भलिबल खेल जारी रहेपनि पुनम भने टिममा छैनन् । पुनम केहि समय अष्ट्रेलिया गएको चर्चा चलिरहेको छ ।
कञ्चनपुर भीमदत्त–६ निवासी पुनम चन्द २०८२ चैत १५ गतेदेखि सम्पर्कविहीन रहेको उल्लेख गरिएको छ। उनी केही महिनाअघि अस्ट्रेलिया पुगेको र त्यहाँ क्लब भलिबल खेल्न थालेको जानकारी सार्वजनिक भएको छ। नेपालमा महिला भलिबलबाट विदेशी पलायन बढिरहेका बेला पुनमको नाम पनि थपिएको छ।


प्रतिक्रिया दिनुहोस्: