काठमाडौं । जर्ज मुन्सेको शतकीय इनिङमा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनी लायन्समाथि १० विकेटको शानदार जित निकाल्दै सुदूरपश्चिम रोयल्सले एनपीएलको उपाधि जितेको हो ।
लुम्बिनी लायन्सले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिम रोयल्सले १३.३ ओभरमा बिनाविकेटको क्षतिमा पूरा गरेको हो ।
सुदूरपश्चिम रोयल्सका लागि ओपनर जर्ज मुन्से १२५ र विनोद भण्डारी ३० रनमा अविजित रहे । मुन्सेले ५४ बलमा ८ चौका र १२ छक्का प्रहार गरे । २७ बल खेलेका भण्डारीले ३ चौका प्रहार गरे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५५ रनको योगफल तयार पारेको थियो ।
लुम्बिनी लायन्सका लागि दिलिप नाथ ३९ र रुबेन ट्रम्पलम्यान ४ रनमा अविजित रहे । ३१ बल खेलका दिलिपले ३ छक्का प्रहार गरे । कप्तान रोहितकुमार पौडेलले ३० र निरोसन डिकवेलाले २८ रनको योगदान दिए । ३१ बल खेलेका रोहितले २ चौका प्रहार गरे । डिकवेलाले १७ बलमा १ चौमा र २ छक्का प्रहार गरे ।
अलि शेखले २४ रन जोडे । १२ बल खेलेका अलीले २ चौका र २ छक्का प्रहार गरे । ओपनर डार्सी सटले २१ रन जोडे । १८ बल खेलका डार्सीले ४ चौमा प्रहार गरे । सन्दीप जोरा ४ र ओपनर आसिफ शेख १ रनमा पभिलियन फर्किए ।
सुदूरपश्चिम रोयल्सका लागि स्कट कुगेलेनले २ तथा दीपेन्द्रसिंह ऐरी, हेमन्त धामी र थारिन्दु रत्नाऐकेले समान १–१ विकेट लिए ।

लुम्बिनीको ब्याटिङ : दिलीपको धैर्य, अलीको आक्रमण
टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो। लुम्बिनीका लागि दिलीप नाथले सर्वाधिक ३९ रन बनाए। उनले ३१ बलमा ३ छक्कासहित अविजित इनिङ्स खेले।
कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३० रन बनाउँदा निरोशन डिक्वेलाले १७ बलमा २८ रन जोडे। डार्सी सर्टले १८ बलमा २१ र अली शेखले १२ बलमा २४ रन बनाए। अलीले २ चौका र २ छक्का प्रहार गरे।
लुम्बिनीको सुरुवात भने राम्रो हुन सकेन। दोस्रो ओभरको दोस्रो बलमै आशिफ शेख १ रनमा आउट भए। स्कट कुगेलेइनले उनलाई एलबीडब्लू धरापमा पारे। त्यसपछि डार्सी सर्ट र रोहितले दोस्रो विकेटका लागि ३० रन जोडे। सर्ट २१ रन बनाएर पाँचौँ ओभरमा आउट भए।
रोहित र डिक्वेलाले तेस्रो विकेटका लागि ३९ रनको साझेदारी गर्दै लुम्बिनीको इनिङ्स सम्हाले। डिक्वेला २८ रन बनाएर १०।१ ओभरमा आउट भए। त्यसपछि रोहित र दिलीप नाथले चौथो विकेटका लागि ३४ रन जोडे।
तर, १५औँ ओभरको अन्तिम बलमा रोहित रनआउट भए। दिलीपसँगको रन लिने क्रममा भएको तालमेल अभावले उनले विकेट गुमाएका थिए। दिलीपले रनका लागि कल गर्नुअघि नै रोहित दौडिएका थिए। रोहितले ३० रन बनाए।
त्यसपछि सन्दीप जोरा पनि ४ रनमै आउट भए। दिलीप र अलीले छैटौँ विकेटका लागि ३३ रनको साझेदारी गरेपछि लुम्बिनीले अन्तिम ओभरमा गति बढायो। अली २४ रन बनाएर आउट भए पनि दिलीप अन्तिमसम्म क्रिजमा रहे।
सुदूरपश्चिमको बलिङमा चार खेलाडी प्रभावकारी
सुदूरपश्चिमका बलरहरूले लुम्बिनीलाई १५५ रनमा रोक्न महत्त्वपूर्ण भूमिका खेले। स्कट कुगेलेइनले ४ ओभरमा २५ रन दिएर २ विकेट लिए। हेमन्त धामीले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिए। थारिन्दु रत्नायकेले २४ रनमा १ विकेट लिँदा कप्तान दीपेन्द्रसिंह ऐरीले २५ रन दिएर १ विकेट हात पारे।
तर, अनिल खरेल र इशान पाण्डेको बलिङ भने महँगो साबित भयो। अनिलले २ ओभरमा २५ र इशानले २ ओभरमा ३० रन खर्चिए। दुवैले विकेट लिन सकेनन्। लुम्बिनीले यी दुई बलरविरुद्ध आक्रामक ब्याटिङ गर्दै रन गति बढाएको थियो।
तर, लुम्बिनीले बनाएको १५५ रनको योगफल मन्सीको ब्याटिङसामु निकै कम साबित भयो। सुदूरपश्चिमले फाइनलमा १० विकेटको शानदार जित निकाल्दै तेस्रो संस्करणको उपाधि आफ्नो नाममा लेखायो।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…