काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्ससामु १५६ रनको चुनौती पेस गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५५ रन बनाएको हो ।
लुम्बिनी लायन्सका लागि दिलिप नाथ ३९ र रुबेन ट्रम्पलम्यान ४ रनमा अविजित रहे । ३१ बल खेलका दिलिपले ३ छक्का प्रहार गरे ।
कप्तान रोहितकुमार पौडेलले ३० र निरोसन डिकवेलाले २८ रनको योगदान दिए । ३१ बल खेलेका रोहितले २ चौका प्रहार गरे । डिकवेलाले १७ बलमा १ चौमा र २ छक्का प्रहार गरे ।
अलि शेखले २४ रन जोडे । १२ बल खेलेका अलीले २ चौका र २ छक्का प्रहार गरे । ओपनर डार्सी सटले २१ रन जोडे । १८ बल खेलका डार्सीले ४ चौका प्रहार गरे । सन्दीप जोरा ४ र ओपनर आसिफ शेख १ रनमा पभिलियन फर्किए ।
सुदूरपश्चिम रोयल्सका लागि स्कट कुगेलेनले २ तथा दीपेन्द्रसिंह ऐरी, हेमन्त धामी र थारिन्दु रत्नाऐकेले समान १–१ विकेट लिए ।
लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको लुम्बिनी लायन्स ११ अंकसहित पहिलो स्थानमा रहँदै पहिलो क्वालिफायर खेलेर फाइनल पुगेको टिम हो । लुम्बिनीले पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै फाइनल पुगेको थियो ।
त्यसअघि लिग चरणमा भएको भेटमा पनि लुम्बिनीले सुदूरपश्चिम रोयल्समाथि ७ विकेटको जित निकालेको थियो । पहिलो क्वालिफायरमा पराजित भएको सुदूरपश्चिम रोयल्सले दोस्रो क्वालिफायरमा चितवन राइनोजमाथि ३ विकेटको जित हात पार्दै लगातार तेस्रोपटक फाइनलको यात्रा तय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…