Swornakshar Logo

नेपालमा हालसम्मकै धेरै परिमाणमा लागूऔषध एलएसडी बरामद

काठमाडौं । नेपालमा हालसम्मकै ठूलो परिमाणमा लागूऔषध नियन्त्रण ब्यूरोले लागूऔषध बरामद गरेको छ । प्रतिबन्धित लागूऔषध लाइसर्जिक डाइथेरामाइड एसिड (एलएसडी) बरामद गरेको ब्यूरोले जनाएको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले चलाएको विशेष अपरेशनका क्रममा प्रहरीले १० हजार १३० पिस एलएसडीसहित नेपाली र विदेशी गरी ५ जनालाई पक्राउ जनाएको छ ।

५ असारमा ठमेलबाट सुगम मैनालीलाई ७ पिस एलएसडीसहित प्रहरीले पक्राउ गरेको ब्यूरोका एसपी चक्रराज जोशीले बताए । उनीमार्फत अनुसन्धान गर्दै जाँदा ठमेलबाट नै मुखिया गुरुङ, पोखराबाट चेक रिपब्लिकन नागरिक मार्टिन सेरना र बचन भन्ने राज गौतम पक्राउ परेका थिए ।

सेरना र गौतमको बयानका आधारमा प्रहरीले गिरोहका मुख्य व्यक्ति इटालियन नागरिक डेबिड मण्डियोलाई पनि पक्राउ गरेको जोशीले बताए ।

तर, पछिल्ला वर्षहरुमा नेपालमा एलएसडीको प्रयोग भएको देखिएको थिएन । निकै महँगो पर्ने र स्टिकरका रुपमा विक्री वितरण गरिने यो लागूऔषध नेपालका ट्रान्सपार्टी (लागूऔषधको पार्टी) मा प्रयोग हुने गरेको आशंका गरिएको जोशी बताउँछन् ।

सन् १९६०÷७० को दशकमा हिप्पीहरुले नेपालमा लागूऔषध एलएसडी भित्र्याएको मानिन्छ ।

ब्यूरोका अधिकृतहरुका अनुसार बरामद एलएसडी स्थलमार्गमार्फत भारतबाट नेपाल ल्याइएको अनुसन्धानका क्रममा खुलेको छ । ‘यसको मुख्य व्यक्ति इटालियन नागरिक डेबिड नै हुन्’, जोशी थप्छन्, ‘थप नेक्ससबारे खोजी गरिरहेका छौं ।’

के हो एलएसडी ?

एलएसडी केमिकलमा आधारित हेलोजेनिक (भ्रमित पार्ने) हार्ड ड्रग भएको पत्रकार सम्मेलनमा नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालाका नार्कोटिक्स शाखाका डीएसपी पवन ढुंगानाले जानकारी दिए । उनले भने, ‘प्रयोगकर्तामा यसको गम्भीर असर पर्छ ।’

एलएसडी स्ट्याम्प आकारको कागजको टुक्रामा राखेर प्रयोग गरिन्छ । ‘झट्ट हेर्दा हुलाकको टिकट जस्तो देखिन्छ, यसको प्रयोगबाट मानिस एकदम भ्रममा जान्छ, अनेकथोक कल्पना गर्ने प्रहरी बताउछन् ।

बरामद गरेको एलएसडीको बजार मूल्य दुई करोड रुपैयाँभन्दा बढी रहेको ब्यूरोले बताएको छ ।