ताजा अपडेट
समाचार

कपिलवस्तुमा ब्राउन सुगरसहित दुई जना पक्राउ गर्न प्रहरीले गर्‍यो हवाई फायर

कपिलवस्तुमा ब्राउन सुगरसहित दुई जना पक्राउ गर्न प्रहरीले गर्‍यो हवाई फायर

काठमाडौं। लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा छापा मार्न पुगेको प्रहरीले कपिलवस्तुको वाणगंगाबाट ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाई फायरसमेत गरेको छ ।

शनिबार दिउँसो करिब २ बजे वाणगंगा नगरपालिका–३ राजापानीस्थित राधाकृष्ण नास्ता पसलमा इलाका प्रहरी कार्यालय पिपरा र लागुऔषध नियन्त्रण ब्युरो भैरहवाबाट खटिएको संयुक्त टोलीले छापा मारेको थियो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक मनोहर भट्टका अनुसार पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–११ का २६ वर्षीय सलाउदिन मुसलमान र वाणगंगा नगरपालिका–६ का २९ वर्षीय उमेश थारु छन् ।

प्रहरीले खानतलासी गरी नियन्त्रणमा लिन खोज्दा दुवै जना भाग्न खोजेपछि लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी नायब निरीक्षक सागर भट्टराईले आफूसँग रहेको ब्यारेटा पेस्तोलबाट दुई राउन्ड हवाई फायर गरेका थिए । त्यसपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको थियो ।

खानतलासीका क्रममा उनीहरूको साथमा रहेको कालो प्लास्टिकबाट २४ ग्राम १८० मिलिग्राम र उनीहरूले प्रयोग गरेको भारतीय नम्बर प्लेटको यूपी ५५ एभी २६५९ नम्बरको मोटरसाइकलको सिटमुनि लुकाइएको अवस्थामा थप ४ ग्राम ६४० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बरामद ब्राउन सुगरको कुल शुद्ध तौल २८ ग्राम ८२० मिलिग्राम रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…