ताजा अपडेट
राजनीति

संविधान र डेमोक्रेसीभन्दा माथि कोही माईका लाल छैन– रवि लामिछाने

संविधान र डेमोक्रेसीभन्दा माथि कोही माईका लाल छैन– रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधान र लोकतन्त्रभन्दा माथि कोही ‘माईका लाल’ नरहेको बताएका छन्।

सञ्चारगृहमा प्रहरी पुगेर पत्रकार पक्राउ र धरपकड गरेको विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले संविधान र लोकतन्त्रमाथि आँच पुर्‍याउने गतिविधि गर्ने जोकोही पनि सजायको भागीदार हुनुपर्ने बताए।

शनिबार पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सञ्चार क्षेत्रमा भएका गतिविधिबारे बैठकले स्पष्ट निर्णय गरेको बताए।
उनले भने, ‘संविधानभन्दा माथि र डेमोक्रेसीभन्दा ठूलो केही छैन, कोही छैन। रास्वपा यसमा स्पष्ट छ, रवि लामिछाने यसमा स्पष्ट छ। यसमा कहिल्यै कसैले दुविधा गर्नुपर्दैन ।’

संविधान र लोकतन्त्रमाथि आँच आउने कुनै पनि गतिविधि कसैले गरेको भए त्यसको जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ।
‘यसमा आँच आउने कुनै पनि क्रियाकलाप जोकोहीले पनि गरेको छ भने त्यो सजायको भागीदार हुनुपर्नेछ। त्यसले जिम्मेवारी लिनुपर्नेछ। यो कुरा हामीले स्पष्ट रूपमा भनिसकेका छौं। पार्टीले पनि निर्णय गरेको छ,’ उनले भने।

संविधानप्रदत्त अधिकारलाई बेवास्ता गर्ने गतिविधि गर्ने व्यक्ति आफू वा अरू जोसुकै भए पनि कारबाहीको दायरामा आउनुपर्ने लामिछानेले बताए।

‘जसले यसरी संविधानलाई बेवास्ता गर्ने, संविधानप्रदत्त अधिकारलाई नै हवालात दिने किसिमको क्रियाकलाप गर्छ, जोसुकै होस्, चाहे म होस् वा अरू कोही पनि माथि छैन। म फेरि पनि भन्छु, संविधानभन्दा माथि र डेमोक्रेसीभन्दा ठूलो कोही माईका लाल छैन, उनले भने।

रास्वपाले शनिबारको सचिवालय बैठकबाट सञ्चार क्षेत्रमा कात्तिक १३ गते प्रहरी प्रशासनमार्फत भएका भनिएका गतिविधिप्रति आपत्ति जनाउँदै गैरजिम्मेवार आदेश दिने व्यक्तिहरूको पहिचान र छानबिन गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…