ताजा अपडेट
समाचार

अस्पताल उद्घाटनमा गोली चलेको घटना : अनुसन्धान गर्न एसएसपीको नेतृत्वमा समिति गठन

अस्पताल उद्घाटनमा गोली चलेको घटना : अनुसन्धान गर्न एसएसपीको नेतृत्वमा समिति गठन

काठमाडौं। शनिबार बाराको फेटा गाउँपालिकामा अस्पताल उद्घाटनका क्रममा भएको झडप र गोली प्रहारको घटनाका बारेमा मधेस प्रदेश प्रहरीले छानबिन सुरु गरेको छ ।
शनिबार बाराको फेटा गाउँपालिकामा संघीय सरकारको अनुदानमा निर्माण गरिएको १५ शय्याको अस्पताल उद्घाटन कार्यक्रममा झडप भएको थियो । झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय युवक आदित्य पासवान घाइते भएका छन् । प्रदर्शनकारीको ढुंगामुढाबाट पाँच जना प्रहरीसमेत घाइते भएका थिए ।

घटनामा प्रहरीको भूमिकामाथि प्रश्न उठेपछि प्रदेश प्रहरी कार्यालयले समिति गठन गर्नुका साथै घटनास्थलको सुरक्षा कमान्ड सम्हालेका प्रहरी निरीक्षकलाई जिम्मेवारीबाट हटाएको छ ।

मधेस प्रदेश प्रहरी कार्यालयले घटनाको छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिमा नेपाल प्रहरी विशेष सुरक्षागण ढल्केवरका प्रहरी उपरीक्षक भुवनेश्वरप्रसाद साह र प्रदेश प्रहरी कार्यालय वीरगञ्जका प्रहरी निरीक्षक जटाशंकर यादव सदस्य छन् ।

समितिलाई घटनाको यथाशीघ्र छानबिन गरी सात दिन प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । घटनामा गोली चल्नुको कारण, प्रहरीको भूमिका र झडपको अवस्थाबारे समितिले अध्ययन गर्नेछ ।

घटनाका क्रममा प्रदर्शनकारीले १० वटा मोटरसाइकलमा आगजनी गरेका थिए भने नवनिर्मित अस्पतालको शिलालेखसमेत तोडफोड गरेका थिए । अस्पताल उद्घाटनको विषयलाई लिएर सुरु भएको विवादले हिंसात्मक रूप लिएपछि स्थिति तनावग्रस्त बनेको थियो । घटनापछि इलाका प्रहरी कार्यालय प्रसौनीका इन्चार्ज प्रहरी निरीक्षक सुमन लामालाई पनि जिम्मेवारीबाट हटाइएको छ । लामाले घटनास्थलको सुरक्षा कमान्ड सम्हाल्दै आएका थिए । उनलाई त्यहाँबाट तानिएको मधेस प्रदेश प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…