Swornakshar Logo

डा. सन्दुक रुइतको जीवनी अब अलग अलग कक्षाका पाँच विषयमा पढाइने

डा. सन्दुक रुइतको जीवनी अब अलग अलग कक्षाका पाँच विषयमा पढाइने

काठमाडौं । मंगलबारको संसद बैठकमा एमालेका सांसद रघुजी पन्तले कक्षा १० को पाठ्यक्रमबाट वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतको जीवनी हटाइएकोबारे शिक्षामन्त्री अशोक राईसँग जवाफ मागे । ‘नेपाली पाठ्यक्रम कक्षा १० मा डा. सन्दुक रुइतको लेखिएको जीवन पढाइ हुन्थ्यो । पाठ्यक्रमबाट हटाइयो । भाँचेर कता कता केमा राखियो । उहाँका कारण देशको इज्जत बढेको छ । त्यो किन हटाइयो ? शिक्षामन्त्रीसँग जवाफ माग्छु,’ उनले भने ।

सांसद पन्तले यो विषय संसदमा प्रवेश गराएसँगै रुइतको जीवनी पाठ्यक्रमबाट हटाइएको भन्दै सरकारको आलोचाना भइरहेको छ । तर पाठ्यक्रमबाट हटाइयो भनिएको रुइतको जीवनी झन बढी कक्षाका पाठ्यपुस्तकमा पढ्न पाइने भएको छ ।

पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता बाबुराम ढुंगाना भन्छन्, ‘पुरानो कोर्समा १० कक्षाको नेपालीमा थियो । नयाँ पाठ्यक्रममा सामाजिक र विज्ञान विषयमा राखिएको हो । सन्दुक रुइत बहुआयामिक सामाजिक व्यक्ति हुनुहुन्छ । त्यसैले सामाजिक र विज्ञान विषयमा राखिएको छ ।’ उनका अनुसार कक्षा ४ को नेपाली, कक्षा ७ को अंग्रेजी, कक्षा ८ को नेपालीमा तथा कक्षा १० को सामाजिक र विज्ञान विषयमा डा. रुइतलाई समावेश गरिएको छ ।

डा. रुइत सामाजिक व्यक्तित्व र चिकित्सक भएकाले नेपालीमा मात्र समावेश नगरेर सामाजिक र विज्ञान विषयमा पनि समावेश गरिएको पाठ्यक्रम विकास केन्द्रको दाबी छ । ‘उहाँ नेपालमा पहिलो व्यक्ति हो । फरक फरक पुस्तकमा राखिएको छ । उहाँ सम्मानका लागि योग्य भएर नै पाँचवटा विषयमा राखिएको हो,’ उनले भने, ‘सर्वमान्य व्यक्ति रुइतलाई विवादमा ल्याउनु हुन्न ।’ पाठ्यपुस्तक र पाठ्यक्रम बुझेकाले यो विषयमा विरोध नगर्ने उनको भनाइ छ ।

शिक्षाविद् बालचन्द्र लुइँटेलल भने, ‘विज्ञहरू पाठ्यक्रममा कसको जीवनी राख्ने भन्ने विषयमा बृहत छलफल हुनुपर्ने बताउँछन् । पाठ्यपुस्तकमा कस्तो र कसको जीवनी पढाउने ? यो बृहत छलफलको विषय हो ।’
उनले देश, विदेशसम्म पुगेर दृष्टिविहीनलाई ज्योति दिइरहेका मात्र छैनन्, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको इज्जत पनि बढाएका छन् । र, इसा अवार्ड पनि उनले पाएका थिए ।