काठमाडौँ । सन् २०२६ को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार बेल्जियममा जन्मिएका अमेरिकी वैज्ञानिक फ्रान्सिस हेल्जेनलाई प्रदान गरिएको छ ।
रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले हेल्जेनलाई ‘आइसक्युब न्यूट्रिनो अब्जर्भेटरी’मा महत्त्वपूर्ण योगदान पुर्याएको तथा अन्तरिक्षबाट पृथ्वीमा आइपुग्ने अत्यन्त ऊर्जावान् न्यूट्रिनो कणको खोजमा योगदान पुर्याएबापत नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
नोबेल पुरस्कारका विजेतालाई आगामी डिसेम्बरमा स्वीडेनको राजधानी स्टकहोममा आयोजना हुने समारोहमा सम्मान गरिनेछ । विजेतालाई पदक, प्रमाणपत्र र पुरस्कार राशि प्रदान गरिन्छ । सन् २०२६ को नोबेल पुरस्कारको राशि करिब ११ मिलियन स्विडिस क्रोनर छ ।
अन्तरिक्षका न्यूट्रिनो पत्ता लगाउन दक्षिणी ध्रुवको बरफ
न्यूट्रिनो अत्यन्त सूक्ष्म कण हुन् । यस्ता कण सूर्य, ताराहरू तथा अन्तरिक्षमा हुने अत्यन्त शक्तिशाली घटनाबाट उत्पन्न हुन्छन् । प्रत्येक सेकेन्ड अरबौँ न्यूट्रिनो कण हाम्रो शरीर र पृथ्वी हुँदै पार हुन्छन् । तर तिनको प्रत्यक्ष अनुभूति हुँदैन ।
न्यूट्रिनोको विशेषता के हो भने यी कण अन्तरिक्षबाट लगभग सीधा दिशामा पृथ्वीसम्म आइपुग्छन् र बाटोमा निकै कम परिवर्तन हुन्छन् । त्यसैले वैज्ञानिकहरूले न्यूट्रिनो पत्ता लगाउन सके ब्रह्माण्डमा ती कण कहाँ र कुन घटनाबाट उत्पन्न भएका हुन् भन्नेबारे जानकारी हासिल गर्न सक्छन् ।
तर न्यूट्रिनो पत्ता लगाउन निकै कठिन हुन्छ । यी कण अधिकांश पदार्थलाई कुनै टक्करबिना पार गर्न सक्छन् । यही चुनौतीलाई समाधान गर्न हेल्जेनले सन् १९८८ मा दक्षिणी ध्रुवमा रहेको बरफलाई न्यूट्रिनो पत्ता लगाउने माध्यमका रूपमा प्रयोग गर्ने विचार अघि सारेका थिए ।
यसै अवधारणाअनुसार करिब एक घन किलोमिटर क्षेत्रफलमा फैलिएको बरफभित्र हजारौँ प्रकाश संवेदक जडान गरिएका छन् । कुनै न्यूट्रिनो बरफमा रहेको परमाणुको केन्द्रकसँग ठोक्किँदा अत्यन्तै कमजोर प्रकाश उत्पन्न हुन्छ । बरफभित्र जडान गरिएका संवेदकले त्यही प्रकाश पत्ता लगाउँछन् ।
यसरी पत्ता लगाइएका न्यूट्रिनोको दिशा र ऊर्जाको विश्लेषण गरेर वैज्ञानिकहरूले ती कणको स्रोत तथा अन्तरिक्षमा भएका शक्तिशाली घटनाबारे अध्ययन गर्दै आएका छन् । आइसक्युब वेधशालाले ब्रह्माण्डका अत्यन्त ऊर्जावान घटनालाई बुझ्न वैज्ञानिकहरूलाई नयाँ माध्यम उपलब्ध गराएको छ ।


प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…