Swornakshar Logo

लागुऔषध सेवन गरेरका ११ जना हाइस चालक नागढुङ्गाबाट प्रहरीको नियन्त्रणमा

काठमाडौं । काठमाडौंको नागढुङ्गाबाट लागुऔषध सेवन गरी सवारी साधन चलाउने ११ जना चालकलाई प्रहरीले काठमाडौंको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी अस्पताल, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले शुक्रबार राति १० बजेदेखि साढे ११ बजेसम्म २५ जना चालकलाई जाँच गर्दा ११ जनाले लागुपदार्थ सेवन गरेको पाइएको थियो ।

बा २ ख १२४४ नम्बरको हाइसका चालक धादिङका २६ वर्षीय ईश्वर श्रेष्ठ, ग १ ख २७७२ नम्बरको हाइसका चालक धादिङकै २६ वर्षका नारायण परियार, बा २ ख २०७४ नम्बरको हाइसका चालक धादिङकै ३२ वर्षीय विकास मिजार, ग १ ख २९५९ नम्बरको हाइसका चालक गोरखाका २९ वर्षीय नरेश गुरुङ, ग १ ख २९५७ नम्बरको हाइसका चालक बाराका ३८ वर्षीय राम प्रसाद आचार्य समातिएका छन् ।

यसैगरी, ग १ ख २८१९ नम्बरको हाइसका चालक कास्कीका २६ वर्षीय नविन बिक, प्रदेश २ ०३ ००१ ख ०५१९ नम्बरको बसका चालक सर्लाहीका २३ वर्षीय नजाम हुसेन, बा ८८ प २४७५ नम्बरको मोटरसाइकलका चालक भोजपुरका ४० वर्षीय श्याम कुमार तिरुवा, ना ७ ख ६२२४ नम्बरको ट्रकका चालक ४० वर्षीय बाराका जयराम साह तेली, ना ४ ख ७१९५ नम्बरका ट्रकका चालक ललितपुरको गोदावरी ३ का ३४ वर्षीय बिक्रम दमाई र बा ४ ख ६२९ नम्बरको टिपरका चालक धादिङका २५ वर्षीय अशोक घिमिरेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

लागुऔषध सेवन गरी सवारी साधन चलाइहेको अवस्थामा फेला परेका ११ जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी प्रभाग बलम्बु पठाइएको छ । उनीहरूलाई थुनामा राखेर लागुऔषध सेवनको मुद्दा चलाइने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकहरूलाई लामो समयदेखि नै ट्राफिक प्रहरीले कारबाही गर्दै आए पनि पछिल्लो समय लागुऔषधसमेत सेवन गरेर सवारी साधन चलाउने चालकहरू भेटिन थालेपछि लागुऔषध जाँच अभियानलाई तीव्रता दिइएको भट्टले बताए । आउँदै गरेको होलीको दिन पनि व्यापक रूपमा लापसे र मापसे चेकिङ गरिने प्रवक्ता भट्टले बताए ।