ताजा अपडेट
समाचार

जेलमुक्त भए टोपबहादुर रायमाझी

जेलमुक्त भए टोपबहादुर रायमाझी

काठमाडौं । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त भएका छन् । उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका थिए । उनी उमेरका आधारमा पाउने कैद छुट सुविधापछि जेलमुक्त भएका हुन् ।
रायमाझी २०८० वैशाख २० मा पक्राउ परेका थिए ।

६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कानुनी सुविधाअनुसार उनी बिहीबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन् । हिजै समय पूरा भए पनि आज बिहान ७ बजे उनी डिल्लीबजार कारागारबाट बाहिर आएका हुन् । अर्घाखाँची स्थायी घर भएका रायमाझी सांसद रहेकै बेला पक्राउ परेका हुन् ।

काठमाडौँ जिल्ला अदालतको आदेश र संशोधित कैदीपुर्जीका आधारमा रायमाझीलाई कैदमुक्त गरिएको हो । तिहारअघि नै अदालतबाट रिहाइसम्बन्धी पत्र प्राप्त भएकाले बिहीबार उनलाई कारागारमुक्त गरिएको डिल्लीबजार कारागारका जेलर बाबुराम अर्यालले जानकारी दिए ।

रायमाझीले ज्येष्ठ नागरिकको उमेरका आधारमा कैद छुट पाउन अदालतमा निवेदन दिएका थिए । सोही निवेदनमाथि सुनुवाइ गर्दै अदालतले कानुनी व्यवस्थाअनुसार कैद छुट सुविधा प्रदान गरी संशोधित कैदीपुर्जी जारी गरेको थियो ।

तत्कालीन नेकपा एमालेका सचिवसमेत रहेका रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी, संगठित अपराध, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा दोषी ठहर भएका थिए । काठमाडौँ जिल्ला अदालतले उनलाई ठगीमा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना, राज्यविरुद्धको कसुरमा एक वर्ष छ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तथा एकीकृत कसुरतर्फ चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।

गम्भीर प्रकृतिको राजनीतिक तथा आर्थिक अपराधका रूपमा चर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च राजनीतिक तहका व्यक्तिहरू मुछिएका थिए ।
कारागारबाट रिहा भएपछि रायमाझीलाई परिवार तथा आफन्तले घरमा टीकामाला लगाएर स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…