Swornakshar Logo

करोडौं मूल्य बराबरको कोकिनसहित ३ विदेशी पक्राउ

काठमाडौं । ९ करोड मूल्य बराबरको लागु औषध कोकिनसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३ जना विदेशी नागरिक रहेका प्रहरीले जानकारी दिएको छ । लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले विशेष सूचनाका आधारमा दक्षिण अफ्रिकी नागरिक सिर्ले गामा, भारतीय नागरिक विजय सिंह र तान्जानियाका नागरिक गेर्तुदे लियोनार्ड किमारोलाई पक्राउ गरेको हो ।

ब्यूरोका अनुसार गत भदौ ३ गते कतार एयरलाइन्सको विमानमार्फत केपटाउनबाट दोहा हुँदै नेपाल आएकी दक्षिण अफ्रिकन नागरिक सिर्ले गामा २ किलो ९६६ ग्राम कोकिनसहित ब्युरोले कमलादीको एक होटलबाट पक्राउ गरेको थियो ।

त्यहि कारोबारमा संलग्न भारतको बैंकलोरका विजय सिंहलाई पनि भदौ ८ गते कमलादीबाटै पक्राउ गरेको थियो । उनी गामासँग कोकिन लिनका लागि भारतबाट आएको ब्युरोले बताएको छ ।

यस्तै उक्त कारोबारमा संलग्न तान्जानियाका नागरिक गेर्तुदे लियोनार्ड किमारोलाई सिन्धुलीको खुर्कोटबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ । उनी भारत तर्फ भाग्दै गरेको अवस्थामा पक्राउ परेको बताइएको छ ।

प्रहरीले पक्राउ गरेको कोकिनको मूल्य ९ करोड बराबरको रहेको र संलग्न व्यक्ति उपर १५ देखि जन्म कैद र २५ लाखसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ ।