आजसम्म देशभर ४६ हजार बढीले लगाए कोरोना विरुद्धको खोप
काठमाडौं । १६ माघ । शुक्रबारसम्म देशभर ४६ हजार भन्ला बढीले कोरोना भाइरस कोभिड—१९ विरुद्धको खोप लगाएका छन् ।
कोभिड १९ विरुद्धको खोप अभियान सुरु भएको तेश्रो दिनसम्म ४६ हजार १ सय ९७ जनाले खोप लगाएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सबैभन्दा बढी खोप लगाउनेमा वाग्मती प्रदेशमा छन् । वाग्मतीमा आजसम्म १५ हजार ६ सय ४१ जनाले खोप लगाएका छन् भने सबैभन्दा कम प्रदेश नम्बर १ मा ७ हजार ३ सय ६९ जनाले खोप लगाएका छन् ।
त्यस्तै प्रदेश नम्बर २ मा आजसम्म ४ हजार ६ सय ५०, गण्डकी प्रदेशमा ७ हजार १ सय ५३, लुम्बिनी प्रदेशमा ४ हजार ६ सय ३५, कर्णाली प्रदेशमा २ हजार ९ सय ६६ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ७ सय ८३ जनाले खोप लगाएका छन् ।
पहिलो चरणको खोपको प्राथमिकतामा सरकारले स्वास्थ्यकर्मीहरू, फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर संकलक तथा चालकहरू, एम्बुलेन्स तथा शववाहन चालक तथा सहचालकहरु, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयं सेवकहरूलाई राखेको छ ।
त्यस्तै ,वृद्धाआश्रममा रहेका व्यक्ति, हेरचाह तथा व्यवस्थापनमा खटिने कर्मचारीहरू र जेलमा रहेका कैदी तथा सुरक्षाकर्मीहरू पनि खोपको प्राथमिकतामा रहेका छन् । हाल ७७ जिल्लाका १ सय ६९ खोप केन्द्रहरुबाट खोप अभियान सञ्चालन भइरहेको छ । खोप लगाएकामध्ये कसैलाई पनि जटिल स्वास्थ्य समस्या नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप अभियानको पहिलो दिन बुधबार ११ हजार ८४ जनाले खोप लगाएका थिए भने दोस्रो दिन १८ हजार ७ सय ३२ जनाले खोप लगाएको मन्त्रालयका सहप्रवक्ता डा।समिकुमार अधिकारीले बताए ।
प्रतिक्रिया दिनुहोस्: