Bagmati Samachar Logo

दिल्लीबाट औषधि, चीनबाट स्वास्थ्य सामग्री ल्याउने

काठमाडौँ । ३० चैत । सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि अति आवश्यक पर्ने औषधि र चीनबाट स्वास्थ्य सामग्रीहरेरु ल्याउने तयारी गरेको छ । भारतबाट हाइड्रोक्सीक्लोरोक्वीन ट्यावलेटसहित ६० थरीका औषधिहरु ल्याउने भएको छ । चीनको गोन्जाउबाट भने अतिआवश्यक अन्य स्वास्थ्य सामग्रीहरु ल्याउने तयारी गरेको हो ।

मन्त्रिपरिषद्को चैत १६ को निर्णयअनुसार नेपाली सेनालाई सरकार–सरकार (जीटुजी) प्रक्रियामार्फत स्वास्थ्य सामग्री र औषधिहरु खरिद गरी ल्याउने जिम्मेवारी दिएको थियो । उक्त जिम्मेवारीअनुसार नेपालले चीन, भारत, इजरायल, दक्षिण कोरिया र सिंगापुरलाई कूटनीतिक माध्यममार्फत जीटुजी खरिदको लागि पत्राचार गरेको थियो । तीमध्ये भारत, चीन र दक्षिण कोरियाबाट पत्रको जवाफ आएको थियो ।

सेनाले कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रले तयार पारेको सूचीलाई खरिद इकाईले पारित गर्दै रक्षा मन्त्रालयमार्फत परराष्ट्र मन्त्रालय हुँदै सम्बन्धित मुलुकलाई औषधि र स्वास्थ्य सामग्रीको सूची तयार पारेर पठाएको हो ।

नेपालले पठाएको सूचीलाई अन्तिम रुप दिन मुख्य सचिव लोकदर्शन रेग्मी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका सचिव तथा कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रका प्रमुख लक्ष्मण अर्याल र सेनाका पदाधिकारीहरुको जंगी अड्डामा आइतबार छलफल भएको थियो । त्यसलगत्तै सम्बन्धित मुलुकहरुमा सूचीसहित नेपालले पत्राचार गरेको हो ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार सेनाको नेतृत्वमा रहेको खरिद इकाईले सूची तयार पारि भारत र चीनमा पत्राचार गरिरहेका छौं । प्रवक्ता पाण्डेले चीनमा पठाएको सूचीको विषयमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि चाहिने अतिआवश्यक सामग्री नै भएको बताए ।