Bagmati Samachar Logo

सरकारले कोरोना रोक्न चीनबाट डाक्टर र पीपीई मगाउने

काठमाडौं । १० चैत । नेपाल सरकारले कोरोना भाइसर (कोभिड–१९) उपचारका लागि चीनबाट डाक्टर, स्वास्थ्यकर्मी र पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट ( पीपीई ) मगाउने भएको छ ।

कोरोना भाइरस नेपालमा अहिलेसम्म भित्रिई नसकेको भए पनि यसको सुरक्षा र भित्रिई हालेमा उपचार गर्न सरकारले चीनबाट डाक्टर र पीपीई ल्याउने तयारी पूरा गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।

नेपालमा हालसम्म कोरोना भाइरस नदेखिए पनि सरकारको तयारीका बारेमा आममानिसमा संशय रहेको तर सरकार भने यसको तयारीमा रातोदिन लागिरहेको मन्त्री भट्टराईले बताए । उनले भने, ‘चीन सरकारले सहयोग गर्न बचन दिएको छ । हामीले पनि चीन सरकारलाई आधिकारिक रूपमा पत्र लेखेर डाक्टर र पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट सहयोग गर्न भनेका छौँ ।’

कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि सरकारले यसअघि नै राजधानीका वीर अस्पताल, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र नेपाली सेनाको छाउनी अस्पतालमा उपचार गर्ने घोषणा गरेको छ । तर, सरकारले तत्काललाई यदि कोरोना संक्रमण भएको पाएमा अथवा बढेमा सशस्त्र प्रहरी बलको अस्पताललाई खाली गरेर त्यहाँ कोरोना भाइरसको उपचार केन्द्र बनाउने तयारी गरेको छ ।

मन्त्री भट्टराईले भने, ‘सरकारले आवश्यक सबै तयारी गरेको छ र गरिरहेको छ । उपचारमा कुनै कमी आउन नदिन सशस्त्र प्रहरीको अस्पताललाई कोरोना उपचार केन्द्रमा परिणत गर्न पनि सरकारले तयारी पूरा गरेको छ ।’ सरकारले कोरोनाको संक्रमणबाट बच्न डाक्टर, नर्स, स्वयंसेवकलगायतले प्रयोग गर्ने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट९पीपीई०को सरकारले व्यवस्था गरिरहेको उनले बताए ।

नेपाली बजारमा उपलब्ध नहुने सामानहरू परराष्ट्र मन्त्रालयमार्फत् चीनबाट ल्याउन लागेको छ । चीन सरकारले पहिला नै आफूले सहयोग गर्ने घोषणा गरेकाले यी सामानहरू आउन धेरै समय नलाग्ने भट्टराईले बताए । सरकारले विभिन्न अस्पतालमा आइसोलेसन वार्ड बनाएको छ ।

धेरै बिरामीको चापका कारण पनि संक्रमण फैलिने उच्च जोखिम रहने भएकाले वीरमा २० शय्याको, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र नेपाली सेनाको छाउनीमा १ सय २० शय्याको आईसीयू निर्माण गर्न थालिएको छ ।

नेपालमा हाल कोरोना संक्रमितको उपचार गर्ने डाक्टर र नर्स नभएकाले चीनबाट अनुभवी डाक्टर र नर्स सहयोग मागिएको छ । मन्त्री भट्टराईले भने, ‘हामीले चीन सरकारसँग अनुभवी डाक्टर र स्वास्थ्यकर्मी मागेका छौँ । चीन सरकारले उपलब्ध गराउने भएको छ ।’