Swornakshar Logo

नेवारपानीबाट लागूऔषधसहित एक जना पक्राउ

१५ फागुन । मकवानपुर । हेटौंडा उपमहानगरपालिका १९ नेवारपानीबाट अवैध लागूऔषध ६ किलो गाँजा सहित एक जना पक्राउ परेका छन् ।
गाँजा सहित कैलाश गाउँपालिका–६ भार्ता बस्ने ३२ वर्षीय सुशिल कुमार स्याङ्वोलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले नारायणगढबाट बीरगंजतर्फ जाँदै गरेको ना.६ ख ५३२ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार स्याङ्वोलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

काठमाडौं, सुर्खेत, कपिलवस्तु,उदयपुर र मकवानपुरका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित १८ जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरुबाट विभिन्न लागूऔषध तथा लागूऔषध खरिदबिक्री गर्न प्रयोग भएको नगद समेत प्रहरीले वरामद गरेको छ।

काठमाडौं कोटेश्वरबाट अवैध लागूऔषध गाँजा २ केजी र नगद ८ लाख ६४ हजार ७ सय २० रुपैयाँ सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सप्तरी राजविराज नगरपालिका ७ घर भई हाल कोटेश्वर बस्ने २१ वर्षीय अबिनाश साह, धादिङ घर भई हाल ललितपुर पुल्चोक बस्ने २८ वर्षीया बिन्दु तामाङ र सुनसरी सप्तकोशी घर भई हाल कोटेश्वर बस्ने ३० वर्षीया संगिता यादव रहेका छन्। महानगरीय प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध तथा नगदसहित फेला पारी पक्राउ गरेको हो।

सुर्खेत, बीरेन्द्रनगर नगरपलिका ८ बस्ने राकेश गन्धर्व लगायत ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम २ सय ४० मिलिग्राम, नाइट्रोभेट ४५ ट्याव्लेट र नगद ४६ हजार २ सय ९० रुपैयाँसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।

राकेशको घरमा लागूऔषध बिक्री बितरण भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरुलाई लागूऔषध बिक्रीबितरण गरिरहेको अवस्थामा उक्त परिमाणको लागूऔषध तथा नगदसहित फेला पारी पक्राउ गरेको हो।

कपिलवस्तु, कृष्णनगर नगरपालिका २ बाट अवैध लागूऔषध चरेश करिब ७ केजी ५ सय ग्रामसहित शिवराज नगरपालिका ९ बिजौरी बस्ने २६ वर्षीया योजना न्यौपाने समेत ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट लिङकबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

उदयपुर, बेलका नगरपालिका ३ चिलिया टप्पु बस्ने २९ वर्षीय श्याम माझी समेत ७ जनालाई अवैध लागूऔषध गाँजा करिब ४ केजी सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ। साथै लागूऔषध नियन्त्रण तथा कारोबारीलाई कानुनी दायरामा ल्याउन प्रहरीले थप सक्रियता अपनाएको छ।