Swornakshar Logo

नेपालको उपाधि जित्ने सपना चकनाचुर, फेरि भारतसँग पराजित

८ चैत । विराटनगर । पाँचौं महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल भारतसँग ३–१ ले पराजित भएको छ । दोस्रो हाफमा उत्कृष्ट प्रदर्शनसहित भारतले २ गोलगरेपछि नेपालले चौथो पटक फाइनलमा भारतलाई उपाधि सुम्पिएको हो ।

पहिलो हाफ १–१ को बराबरी भएको खेलमा नेपालले दोस्रो हाफमा पाएका अवसर सुदपयोग गर्न सकेन । भारतका लागि अन्जु तामाङ र ग्रेसले दोस्रो हाफमा गोल गरिन् । त्यसअघि डालिमाले गोल गरेकी थिइन् । सावित्राले एक गोल फर्काए पनि टोलीलाई जिताउन सकिनन् ।
विराटनगरस्थित सहिद रंगशालामा भारतले २६ औंं मिनेटमा अग्रता लिएको थियो । हिराकुमारी भुजेलले गरेको फाउलमा प्राप्त फ्रिकिकमा भारतकी डालिमा छिपरले गोल गरेकी थिइन् । त्यस लगत्तै नेपालकी सावित्रा भण्डारीले बराबरी गोल फर्काएकी थिइन् । गिता रानाको लामो पासमा सावित्राले गरेको प्रहार गोलमा परिणत भएको थियो ।

दोस्रो हाफमा आक्रामक बनेको भारतले ६३ औं मिनेटमा अग्रता लिएको थियो । भारतको अग्रता २–१ मा ग्रेस दाम्बेले गोल गरेकी थिइन् । नेपालकी गोलकिपर एन्जिला तुम्बापो सुब्बा अगाडि बढेको मौकामा भारतकी ग्रेसले गरेको प्रहार गोलमा परिणत भएको थियो ।

लगत्तै ७७ औं मिनेटमा अन्जु तामाङले भारतको अग्रता दोब्बर पारिन् । त्यसपछिको बाँकी समय नेपालले अवसर पाएपनि सदुपयोग गर्न सकेन । सावित्रा भण्डारीले गोलका केही अवसर खेर फालिन् । १० औं ,२६ औं र पहिलो हाफको अन्तिम समयमा सावित्राले सुन्दर गोलको अवसर सदुपयोग गर्न सकिन्न ।

घरेलु मैदान र दर्शक साथ पाएको नेपालले आक्रामक खेलेपनि उपाधि जित्न सकेन । चौथो पटक पनि नेपालको उपाधि यात्रामा भारत नै बाधक भयो । नेपाल सेमिफाइनलमा श्रीलंकालाई हराउँदै फाइनलमा पुगेको हो । भारतले बंगलादेशलाई पराजित गरेको थियो । यसअघिका तीन संस्करणको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । गत संस्करण सेमिफाइनलबाट बाहिरिएको थियो ।