Swornakshar Logo

२ करोड ५० लाख धरौटी बुझाएर छुटे गोपाल खड्का

२९ माघ । काठमाडौं । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का २ करोड ५० लाख धरौटी तिरेर विशेष अदालतबाट मंगलबार छुटेका छन् । खड्कालाई अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय प्रमोद कुमार श्रेष्ठ र नारायण प्रसाद पोखरेलको संयुक्त इजलासले धरौटीमा रिहा गरेको हो ।

सार्वजनिक पदको दुरुपयोग गरी १८ करोड ६६ लाख बराबर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुस २३ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

खडकाले ८ करोड ६४ लाख ६९ हजार ७ सय ५१ रुपैयाँ मात्रै वैध रूपमा आर्जन गरेकोमा उनीमाथि अनुसन्धान हुँदा २७ करोड ३० लाख ७५ हजार ३ सय ८० रुपैयाँ जोडेको भेटिएको अख्तियारले जारी गरेको आरोपत्रमा उल्लख गरिएको थियो ।
उनले आयल निगमको कार्यकारी निर्देशक भैसकेपछिका ६ वर्षमा पुर्ख्यौली बाहेकका ३ वटा घर बनाएको पाइएको छ ।

अख्तियारका अनुसार खड्काले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरिद समेत गरेका छन् ।

खड्काले घरजग्गा खरिदमा मात्र ११ करोड ६१ लाख ४३ हजार लगानी गरेको अख्तियारले जनाएको छ ।