Swornakshar Logo

साहित्य कस्तो हुनुपर्छः साहित्यकारहरुलाई प्रधानमन्त्री ओलीको प्रवचन

१९ माघ । काठमाडौं । शनिबार विहान सरकारी निवास बालुवाटारमा डाक्टर अरुण सायमिले लेखेको ‘मेरो जीवन कथा’को विमोचन समारोहमा प्रधानमन्त्री ओलीले साहित्य कस्तो हुनुपर्ने भन्ने बारेमा धाराप्रवाह प्रवचन दिएका हुन्।

सार्वजनिक समारोहमा सरकारले गरेको कामको प्रशंसा गर्दै मुलुकको समग्र राजनीतिक अवस्था र प्रतिपक्षी दलको क्रियाकलापमाथि तीखो व्यंग्य गर्ने प्रधानमन्त्री ओलीले शनिबार आफ्नो पुरै सम्बोधनलाई साहित्यमा नै केन्द्रीत गरेका थिए। उनले साहित्यलाई जीवन्त र पाठकको ध्यान तानिरहने बनाउन असाधारण शैली प्रयोग गरिनुपर्ने बताए।

‘साहित्यमा एउटा सानो विषयलाई कसरी प्रस्तुत गरिन्छ भन्ने प्रमुख हुन्छ, किताबमा पसिसकेपछि मान्छेलो भोक, निद्रा, थकान, समय र आफैलाई बिर्सियो कि बिर्सिएन भन्ने कुराले त्यसको मूल्य निर्धाण गर्छ’, उनले भने

उनले साहित्यमा विना प्रसंगका पात्रहरुले विषयवस्तुको सिलसिलालाई भंग गर्ने भएकाले त्यसमा पनि लेखक गम्भीर हुनुपर्ने बताए। सायमिको आत्मकथा मेरो जीवन कथामा केही त्यस्ता प्रसंग पनि भएको उनले टिप्पणी गरे।

आफ्नो जीवन कथामा आएका कतिपय पात्रले लेखक सायमिलाई बास्तवमै आफ्नै कथा लेख्नका लागि बाधा पुर्याएको टिप्पणी पनि उनले गरे।

प्रधानमन्त्री ओलीले डाक्टरी र अरु उपचारका कुरा तथा बिरामी, बिरामीका कुरुवा,आश्रित परिवारसँग गरिएका कुरा समेटेर उपन्यास तयार गर्न समेत डा सायमीलाई सुझाव दिए। उनले भने, ‘कस्ताकस्ता बिरामी भेटिए, अनुभव के रहे, त्यस्ता विषय पनि पुस्तकमा आओस् भन्ने अपेक्षा छ।’

प्रधानमन्त्री ओलीले केही गरौँ भन्ने हुटहुटी बाँकी नै रहेको मान्छेले आतमकथा लेख्दा इमान्दार नबन्ने र सत्य लेख्नै नसक्ने दावी गरे। डा। सायमितर्फ संकेत गर्दै उनले भने, ‘अहिले तपाइँ सबै यथार्थ लेख्न सक्नुहुन्न किनकि तपाइँलाई अझै केही गर्न मन छ र कोही रिसाउलान् कि भन्ने डर पनि छ। यस्तो मान्छेले सत्य लेख्न सक्दैन। उनले आफू प्रधानमन्त्री भएका कारण र पार्टी अध्यक्ष भएका कारण अहिले नै आत्मवृत्तान्त जस्ताको तस्तै लेख्न नसक्ने दावी गरे। यथार्थ साहित्यिक कृति भनेको प्रस्तुतिको चमत्कार भएको र त्यसलाइृ गहन तरिकाले प्रस्तुत गरिएको हुने भन्दै उनले डा सायमिलाई पनि यस्तै कृति लेख्न सुझाब दिए।

पुस्तकका लेखक आफ्ना धेरै साथी बितेर गइसकेको प्रसङ्ग जोड्दै जिन्दगीको भरोसा नभएर पुस्तक लेखेको बताएपछि प्रधानमन्त्री ओलीले कुनै कारणले साथी बितेर गएकामा चिन्ता लिनुभन्दा राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशीलाई हेरेर अघि बढ्न आग्रह गरेका थिए।

कार्यक्रममा बोल्दै लेखक डा सायमीले १५ दिन बिदा बसेर पुस्तक लेखेको बताउँदै आफ्नो ६१ वर्षे जीवनकालका अनुभवहरु समेटेको उल्लेख गरे। पुस्तक भित्रको ‘मैले चिनेको केपी ओली’ शीर्षकको एउटा अंश सुनाउँदै भने, ‘दुई तिहाई सरकारलाई विपक्षले ढाल्न नसके पनि यो दुईतिहाईमा निराशा भएर विद्रोहमा उत्रियो भने नेपालमा नौ रेक्टरको भूकम्प आउँछ, त्यसकारण जनताको मन जित्ने काम गरेर देखाउन शुभकामना दिन्छु।’

पेशाले चिकित्सक रहेका सायमिले गीत, कविता, उपन्यास तथा समसायिक विषयमा कलम चलाउदै आएका छन्। उनको पछिल्लो कृतिको रुपमा आएको ‘मेरो जीवन कथा’ आत्मकथालाई गंकी धुस्वाँ–बसुन्धरा प्रतिष्ठानले प्रकाशन गरेको हो। २५२ पृष्ठ लामे सो आत्मकथाभित्र डाक्टर सायमिको बाल्यकाल देखि स्कुल, शिक्षा, राजैतिक यात्रा, राजनीतिक व्यक्तित्वसँगको भेटघाट, संगत तथा २०६२ ÷६३ को जनआन्दोलन र महाभूकम्प २०७२ का प्रंसग समेटिएका छन्।