Swornakshar Logo

पारस खड्काको शतकसँगै नेपालको शानदार जित

१४ माघ । काठमाडौं । नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय खेल ४ विकेटले जितेको छ । यससँगै नेपालले तीन खेलको श्रृङ्खला २–१ ले आफ्नो पक्षमा पारेको छ ।

गत चैतमा एकदिवसीय मान्यता पाएको नेपालले दोस्रो सिरिजमै उपाधि जितेर ऐतिहासिक सफलता हात पारेको हो ।
यसअघि नेदरल्यान्ड्ससँग भएको पहिलो एकदिवसीय सिरिज भने १–१ को बराबरी टुंगिएको थियो ।

यूएईले दिएको २५५ रनको लक्ष्य नेपालले ४४।४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

कप्तान पारस खड्काले उत्कृष्ट प्रदर्शन गर्दै शतक बनाए । उनले ११५ रन बनाएर आउट भए। उनले १०९ बलमा १५ चौका र एक छक्का प्रहार गरे ।
ज्ञानेन्द्र ३१ रनमा आउट भए । त्यसपछि आएका व्याट्म्यानहरु दीपेन्द्र सिंह ऐरी र सन्दीप जोराले ठूलो पारी खेल्न सकेनन् । तर, एउटा एण्डमा पारस टिकिरहे ।

पाँचौं विकेटका लागि पारस र रोहितकुमार पौडेलले ५४ रनको साझेदारी गरे । रोहित १६ रनमा आउट भए । आशिफ शेखसँग ३२ रनको साझेदारी गरेका पारस ३८।५ ओभरमा ११५ रनमा आउट भए तर, जितको आधार बनाइसकेका थिए ।

आरिफ र सोमपालले त्यसलाई पूर्णता दिए । सोमपाल २६ र आरिफ २१ रनमा नटआउट रहे ।

यसअघि आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २५४ रन बनाएको थियो ।

यूएईको सुरुवात खराब थियो । ४७ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो तर, मध्यक्रमका ब्याट्सम्यानले पारी सम्हाले । साइमान अनवर र सीपी रिजवानले शतकीय साझेदारी गरे ।

यूएईको स्कोर १४५ रन हुँदा पाँचौं विकेटका रुपमा रिवाज ४५ रनमा आउट भए । उनलाई करण केसीले आउट गरे ।

तर, सातौं नम्बरमा आएका मोहम्मद बुटाले अनवरसँग मिलेर आक्रामक पारी खेलेपछि यूएईले राम्रो स्कोर बनायो । दुबैले छैटौं विकेटका लागि ८० रनको महत्वपूर्ण साझेदारी गरे । अनवर ८७ रनमा आउट भए ।

आक्रमब ब्याटिङ गरेका बुटाले मात्र ३१ बलमा अविजित ५९ रन बनाए । मोहम्मद नाबिद ११ रनमा नटआउट रहे ।

नेपालका लागि करण केसीले दुई विकेट लिए । सन्दीप लामिछाने, कप्तान पारस खड्का र सोमपाल कामीले समान १–१ विकेट लिए ।