सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत
काठमाडौँ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका छन्। बुधबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गरेका हुन्।
विश्वासको मतको परिणाम घोषणा गर्दै सभामुख भीमबहादुर भण्डारीले विश्वासको मतको पक्षमा ३१ र विपक्षमा १५ मत परेको जानकारी दिए । प्रदेश सभा बैठकमा ४६ सांसद उपस्थित थिए।
मुख्यमन्त्री भट्टको पक्षमा ३१ सांसदले मतदान गरेका छन्। उनका पक्षमा एमालेका ११ र नेकपाका २० सांसदले मतदान गरेका हुन्।
नेकपाका तर्फबाट साविक माओवादी केन्द्रका सभामुखबाहेक १०, साविक नागरिक उन्मुक्ति पार्टीका ७ र साविक नेकपा एकीकृत समाजवादीका निलम्बित सांसदबाहेक ३ जनाले विश्वासको मत दिएका हुन्।
काङ्ग्रेसका १४ र राप्रपा को १ मत विपक्ष परेको थियो । काङ्ग्रेसकै पदम शाही, मान बहादुर रावल र मधु भारती उपस्थित भएनन् ।
५१ सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा डडेल्धुराबाट निर्वाचित तारा जोशीले राजिनामा दिएर प्रतिनिधि सभा सदस्य निर्वाचित भइसकेका छन् ।
कैलालीबाट निर्वाचित प्रकाश देउवाको पद रिक्त भएको छ । कैलालीबाट निर्वाचित अर्का सांसद दीर्घ सोडारी निलम्बित छन् ।
भट्ट गत साउन २९ गते नेकपा एमालेको समर्थनमा सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस्: