पेरुमा फुजिमोरी निर्वाचित, वामपन्थी उम्मेदवार झिनो मतले पराजित
एजेन्सी । पेरुमा दक्षिणपन्थी नेतृ केइको फुजिमोरी नयाँ राष्ट्रपतिमा निर्वाचित भएको घोषणा भएकी छन् । निर्वाचन अदालतले शुक्रबार उनलाई आधिकारिक रूपमा विजयी घोषणा गरेको हो ।
गत जुन ७ मा भएको दोस्रो चरणको निर्वाचनको मतगणनामा धाँधली भएको आरोप लगाउँदै राष्ट्रपति पदका वामपन्थी उम्मेदवार रोबर्टो सान्चेजले निर्वाचन अदालत गुहारेका थिए ।

तर, अदालतले धाँधली भएको ठोस प्रमाण नभेटेपछि फुजिमोरीलाई विजेता घोषणा गरेको हो । फुजिमोरी र सान्चेजबीच झिनो मतान्तरको फरक छ ।
शुक्रबार सार्वजनिक अन्तिम नतिजा अनुसार फुजिमोरीले ९२ लाख २३ हजार मत प्राप्त गरिन् भने सान्चेजले ९१ लाख ७३ हजार मत पाए । उनीहरूबीच जम्मा ५० हजार (कूल मतको ०.५ प्रतिशतभन्दा कम) फरक छ ।
अल जजीराकी संवाददाता मारियाना सान्चेजका अनुसार रोबर्टो सान्चेजले पेरुभित्र बढी मत पाएका थिए । तर विदेशमा रहेका पेरुभियालीहरूको मतका कारण फुजिमोरी निर्वाचित भइन् ।
५१ वर्षीया फुजिमोरीको दिवंगत पिता अल्बर्टो फुजिमोरी पनि सन् १९९० देखि २००० सम्म १० वर्ष पेरुको राष्ट्रपति थिए । सत्ताबाट बाहिरिएपछि उनलाई मानवअधिकार उल्लंघनको आरोपमा दोषी ठहर गर्दै अदालतले २५ वर्षको जेल सजाय तोकेको थियो ।
पेरुको राष्ट्रपति निर्वाचनमा तीन पटक पराजित फुजिमोरीले चौथोपटकमा बाजी मारेकी हुन् । उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन थियो । फुजिमोरीले जुलाईको अन्त्यतिर सपथ लिने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्: