रास्वपा सहमहामन्त्री आचार्य भन्छन्ः संसदमा शुन्य समयमा बोलेका कुरा कार्यन्वयन हुँदैनन भने त्यसको नाम बल्याक होल समय राखौँ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद तथासहमहामन्त्री विपिन आचार्यले संसदको ‘शून्य समय’ मा बोलिएका कुराहरू कार्यान्वयन नहुने परिपाटी अन्त्य हुनु पर्ने बताएका छन् ।
संसदमा जनपक्षीय मुद्दाहरू उठाए पनि सरकारले त्यसलाई बेवास्ता गरिरहेको पनि उनको टिप्पणी छ ।
सभामुखलाई सम्बोधन गर्दै सांसद आचार्यले भनेका छन्, ‘यदि शून्य समयमा हामीले बोलेका कुरा सुनिन्छन्, टिपिन्छन् र कार्यान्वयनको प्रक्रियामा जान्छन् भने यसलाई शून्य समय होइन, पूर्ण समय भनौँ । तर यदि जनताका पीडा र सांसदका प्रश्नहरू बोले पनि शून्यमै बिलाउने हुन् भने यसको नाम ‘ब्ल्याक होल समय’ राखौँ ।’
वैज्ञानिक तथ्यअनुसार ‘ब्ल्याक होल’ मा प्रकाशसमेत हराउने उल्लेख गर्दै आचार्यले संसदमा नागरिकको आवाज, जनप्रतिनिधिको जवाफदेहिता र सरकारको जिम्मेवारी त्यसरी नै हराउन नहुनेमा जोड दिएका छन् ।
सांसद आचार्यले शून्य समयलाई केवल बोल्ने औपचारिकतामा मात्र सीमित नगर्न सभामुखसमक्ष स्पष्ट प्रस्ताव समेत राखेका छन् । शून्य समयमा उठेका विषयहरूलाई अभिलेखमा मात्र सीमित नगरी तत्काल सम्बन्धित मन्त्रालयमा पठाइनुपर्ने उनको माग छ । साथै, मन्त्रालयले ती विषयमा के काम गर्यो, निश्चित समयभित्र त्यसको प्रगति विवरण संसदलाई जानकारी गराउनुपर्ने आचार्यले बताएका छन् ।
‘शून्य समय जनताको पीडा संसदमा प्रवेश गर्ने संवैधानिक ढोका हो, तर ढोका खुलेपछि अगाडि बढ्ने बाटो पनि हुनुपर्छ,’ आचार्यले भनेका छन्, ‘सांसद बोल्ने, सरकार नसुन्ने, जनता कराउने, व्यवस्था नसुन्ने—यो परम्परा अब अन्त्य हुनुपर्छ।’


प्रतिक्रिया दिनुहोस्: