सुधनले गृहमन्त्री हुनु दुई दिनअघि मात्रै धनकुटाको २० रोपनी जग्गा किनेका थिए
काठमाडौं । सम्पत्ति विवादपछि बुधबार मन्त्रीबाट राजीनामा दिएका सुधन गुरूङले धनकुटाको २० रोपनी जग्गा गृहमन्त्री नियुक्त हुनु दुई दिनअघि मात्रै किनेको तथ्य खुलेको छ ।
धनकुटा मालपोत कार्यालयका अनुसार साँघुरीगढी गाउँपालिका ६ को कार्कीछाप भन्ने ठाउँमा १९ रोपनी १५ आना जग्गा चैत ११ गते वारेसमार्फत् सुधनको नाममा पास तथ्य खुलेको छ ।
उक्त जग्गा प्रतिरोपनी १७ हजार रूपैयाँ सरकारी मूल्यांकन गरेर किनबेच भएको मालपोत कार्यालयले जनाएको छ। त्यसबापत जग्गाको मूल्य ६ लाख ९० हजार रूपैयाँ उल्लेख छ। त्यही मूल्यांकन अनुसार राजस्व बुझाइएको मालपोतको भनाइ छ।
१६७ कित्ता नम्बरको जग्गा सुधनको नाममा पास भएको धनकुटा मालपोतका एक कर्मचारीले जानकारी दिएका छन्न । जुनू लिम्बू नामको जग्गाधनीबाट गुरुङले किनेको अभिलेखमा भेटीएको छ ।
मालपोत कार्यालयका अनुसार साँघुरीगढीको ६ नम्बर वडा कार्यालयले गरेको सिफारिसका आधारमा जग्गाको सरकारी मूल्यांकन राखेर किनबेच भएको हो। वडा कार्यालयले उक्त जग्गामा बाटो नभएको र सडकबाट भित्र पर्ने भनेर सिफारिस गरेको छ।
साँघुरीगढी–६ का वडाध्यक्ष यमप्रसाद मगरले जग्गा बेच्न जग्गाधनीले सिफारिस मागेपछि चैत ११ मा सिफारिस दिएका थिए ।
सुधन गुरूङले जेनजी आन्दोलनपछि र गृहमन्त्री बन्नुभन्दा ५ दिनअघि करिब ५० दिनको अवधिमा पटक पटक गरेर एउटा कम्पनीको ५३ लाख रूपैयाँ बराबरको सेयर दोस्रो बजारबाट किनेको कुरा सार्वजनिक भइसकेको छ ।
गुरुङले गृहमन्त्रीबाट आजै राजीनामा दिएका छन् । उनले राजीनामा दिएपछि उनले किनेको जग्गको मूल्य पनि कैफिएत देखिएको स्थानीयहरु बताउछन् । किन की त्यही ठाउँमा केही महिनाअघि ७ रोपनी जग्गा किनेका इटहरीका एक जना होटल व्यवसायीले आफूले ६ लाख रूपैयाँ रोपनीमा किनेको जानकारी दिए।
यातायात व्यवसाय गर्दै आएका कार्कीछापकै एक जना स्थानीय बासिन्दाले पनि बाटोभन्दा भित्र रोपनीको ६–७ लाखसम्म पर्ने बताएका छन्।
वडाध्यक्षले भनेकै दाममा किनबेच भएको हो भने सुधनले लगभग ६० लाख रूपैयाँमा जग्गा किनेको देखिन्छ। स्थानीय व्यवसायीले भनेको मूल्यमा किनबेच भएको हो भने यो जग्गाको मूल्य एक करोड रूपैयाँभन्दा बढी पर्न जान्छ।
सुधनले जग्गा किनेको ठाउँ पूर्वको चर्चित पर्यटन स्थल भेडेटारबाट ३ किलोमिटर उत्तरमा पर्छ। स्थानीयका अनुसार यो ठाउँ धनकुटाका दुई चर्चित पर्यटन केन्द्र भेडेटार र नमस्ते झरनाको बीचमा पर्छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धानमा हिरासतमा रहेका व्यापारी दीपक भट्टसँगको सम्बन्ध र साझेदारी तथा विभिन्न कम्पनीमा रहेको ठूलो परिमाणको सेयर लगानीको स्रोत देखाउन नसकेपछि गुरूङको विवाद बढ्दै गएको थियो।
उनले आफ्नो सेयर लगानीको स्रोतबारे उठेका प्रश्नमा यसअघि स्पष्टीकरण दिए पनि त्यसले झनै विवाद ल्याएको थियो। आजैमात्र उनले राजीनामा दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्: