नेकपाको पार्टी कार्यालयमा युवाको ६० प्रतिशत सहभागिता माग गर्दै आमरण अनसन सुरु, फिर्ता लिन प्रचण्ड सचिवालयको दबाब
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र युवा नेतृत्वको सुनिश्चितताका लागि दबाब दिँदै पार्टी कार्यालय पेरिसडाँडामा एक युवाले आमरण अनसन सुरु गरेका छन् । नेकपाका युवा नेता भुवनसिंह विष्टले शनिबारदेखि अनसन सुरु गरेका हुन् ।

उनले पार्टीको केन्द्रीय कार्य संयोजन समितिदेखि सेल कमिटीसम्म ४० वर्षमुनिका युवाहरूको ६० प्रतिशत सहभागिताको माग राखेर गत २०८२ चैत २३ गते पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका थिए । तर उक्त ज्ञापनपत्रको कुनै सुनाइ नभएपछि अनसनकर्ता विष्टले आवरण अनसन सुरु गरेको बताएका छन् । उनले पार्टीलाई ‘वृद्धाश्रम’ बन्नबाट जोगाउन र समयानुकूल गतिशील बनाउन युवा सहभागिता अनिवार्य गर्नु पर्ने बताएका छन् ।
त्यसयता भएका पटक–पटकका छलफलमा नेतृत्वले ‘केन्द्रीय समितिबाट निर्णय गर्ने भन्दै आश्वासन दिए पनि वैशाख ३ गतेको बैठकले ठोस निर्णय नगरेपछि आफू कठोर सङ्घर्षमा उत्रनुपरेको उनले बताए ।
‘हामीले पार्टी बनाउने दायित्वबाट अलग हुन नसकेर यो कदम चालेका हौँ । हालैको प्रतिनिधि सभा निर्वाचनको जनमतले पनि युवा नेतृत्वको आवश्यकतालाई प्रस्ट पारेको छ । पार्टीलाई युवामैत्री र जुझारु नबनाएसम्म मेरो अनसन जारी रहनेछ,’ अनसन स्थलबाट विष्टले भने ।
विष्टले पेरिस डाँडामा कालो ब्यानरसहित ५ बुँदे माग पत्र सार्वजनिक गर्दै अनसन सुरु गरेका हुन् । अहिले अनसन स्थलमा विभिन्न जिल्लाबाट आएका युवा नेता तथा कार्यकर्ताहरूको ऐक्यबद्धता बढ्दै गएको छ । पार्टी नेतृत्वले भने यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन ।
उनका मुख्य मागहरू यसप्रकार छन्
–पार्टीका हरेक तह ९केन्द्रीय कार्य संयोजनदेखि सेल कमिटीसम्म० मा एकता प्रक्रियामा ४० वर्षमुनिका युवालाई ६० प्रतिशत सहभागी गराउन पर्ने ।
–तीन महिनाभित्र सम्पन्न गर्ने गरी विशेष महाधिवेशनको कार्य तालिका तत्काल सार्वजनिक गर्नुपर्ने
–महाधिवेशन बाट केन्द्रीय पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्नुपर्ने
–प्रत्यक्ष तथा समानुपातिक दुवै निर्वाचन प्रणालीमा ४० वर्ष मुनिका युवाहरूलाई उम्मेदवार नबनाउनु पार्टीको कमजोरी भएको विषय सार्वजनिक रूपमा स्वीकार गरिनुपर्ने ।
–पार्टीका सम्पूर्ण पदाधिकारीहरूको सम्पत्ति विवरण तुरुन्त सार्वजनिक गर्नुपर्ने ।
शनिबार बस्ने भनेको नेकपाको कार्य संयोजन समितिको बैठक पनि विष्टका अनसनका कारण स्थगित भएको छ । आजै पार्टीका कार्य संयोजन समिति सदस्य बामदेव गौतम पार्टी कार्यालय पुगेर विष्टलाई भेटेका छन् ।
प्रचण्डको सचिवालयले फोन गरेर अनसन फिर्ता लिन दबाब दिएको विष्ट निकट एक नेताले बताए ।


प्रतिक्रिया दिनुहोस्: