जेनजीका नाममा धम्क्याउने अर्जुन शाही काठमाडौंबाट पक्राउ
काठमाडौं । अर्जुन बहादुर शाही पक्राउ परेका छन् । शाहीले पछिल्ला दिनहरुमा जेनजीका नाममा विभिन्न सरकारी कार्यालय गएर धम्क्याउदै आएका थिए ।
शाहीको टोलीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर ज्ञापन पत्रको नाममा धम्क्याउँदै आएका थिए । उनले काम गर्न नसके राजीनामा दिएर मार्गप्रशस्त गर्न सम्बन्धित अधिकारीहरूलाई धम्की दिएका थिए ।
उनलाई बुधबार साँझ काठमाडौंको कोटेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले लोकान्तरलाई जानकारी दिए ।
उनलाई साँझ कोटेश्वरबाट पक्राउ गरेर बाँकी अनुसन्धान अघि बढाउने प्रहरीले बताएको छ ।
शाही विभिन्न आपराधिक मुद्दामा फरार देखिएकाले पक्राउ गरिएको भट्टराईले बताए । उनले सरकारी कार्यालयमा गएर धम्काउन थालेपछि उनका पछिल्ला गतिविधिबारे काठमाडौंका विभिन्न प्रहरी वृतमा परेका उजुरीहरु एक पछि अर्को बाहिरीएका थिए । त्यसपछि प्रहरीले उनको खोजी गरेको थियो ।
शाही ठगी र बैंकिङ कसुरको आरोपी रहेको खुलेको थियो । यसअघि पनि उनी पक्राउ परेका थिए ।
पत्रकार श्रीकृष्ण फुँयालले दिएको जाहेरीको आधारमा प्रहरी वृत्त महाराजगञ्जले उनी विरुद्धको अनुसन्धान अघि बढाएको थियो ।
महाराजगञ्ज वृत्तले शाहीलाई उपस्थित गराइदिन भन्दै वैदेशिक रोजगार विभागलाई २०८२ वैशाख ३० मा पत्राचार गरेको थियो ।
विभागले उनलाई वैदेशिक रोजगार ठगी मुद्दामा पक्राउ गरेर अनुसन्धान गरेको थियो । विभागमा दर्ता भएको मुद्दा टुङ्ग्याएर शाहीलाई प्रहरीमा उपस्थित गराइएको थियो ।
महाराजगञ्ज प्रहरीले अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत् अदालतमा मुद्दा दर्ता गरेको थियो । बैंकिङ कसुर मुद्दामा शाही ३० हजार धरौटी बुझाएर छुटेका थिए । शाहीविरुद्ध प्रहरी वृत्त बौद्धले समेत बैंकिङ कसुर मुद्दा चलाएको थियो ।
शाहीले होमराज खपाङ्गी मगरसँग मिलेर रेड स्टार प्रोडक्सन एन्ड मिडिया हाउस चलाएका थिए । सो कम्पनीको तर्फबाट पत्रकार फुयाँललाई दिएको चेक साटिएन । चेक नसाटिएपछि फुँयालले बाउन्स गरेर प्रहरी वृत्त महाराजगञ्जमा जाहेरी दिएका थिए ।
उनी विरुद्धको ठगी र बैंकिङ कसुरका ३ वटा मुद्दा अहिले पनि काठमाडौं जिल्ला अदालतमा विचाराधीन छन् ।
जेनजी प्रदर्शनपछि सुशीला कार्की प्रधानमन्त्री बनेपछि शाही शीतल निवासमा आयोजित शपथग्रहण समारोहमा सहभागी थिए । त्यहाँ उनले हामी नेपालका संयोजक सुदन गुरुङसँग हात उठाएको तस्वीर समेत सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: