Bagmati Samachar Logo

आन्दोलन गरेपछि झापा प्रहरीले हत्याको आरोप लागेका एमालेका कार्यकर्ताको नाममा जाहेरी लियो , अनुसन्धानमा अझै आलटाल

काठमाडौँ । झापाको दमक नगरपालिका वडा नम्बर–३ स्थित मावाखोलामा यामु निरौलाको हत्यामा एमाले कार्यकर्तापनि संलग्न भएको भन्दै मृतकका आफन्तले किटानी जाहेरी दिदा पनि सुरुमा प्रहरीले किटानी लिन नमानेको आरोप लागेको छ ।

एमाले कार्यकर्ताको पनि हत्यामा संलग्न भएको भन्दै मृतकका आफन्तले किटानी जाहेरी दिदा पनि सुरुमा जाहेरी लिन अस्विकार गरेको प्रहरीले अहिले अनुसन्धान गर्न आलटाल गरेको आरोप छ । दमक नगरपालिका–९ घर भएका ३७ वर्षीय निरौलाको कार्तिक ६ मा हत्या भएको थियो ।

निरौला पहिले जग्गा किनबेच गर्ने व्यवसाय गर्थे । मावा खोलास्थित मिक्लाजुङ जोड्ने पुल छेउको जग्गाबारे विवाद हुँदा ७ जना मिलेर उनको हत्या गरेको भन्दै मृतकका आफन्तले जाहेरी दिएका छन् । जग्गामा रहेको पुरानो क्रसरको सामान बेच्न प्रस्ताव आएपछि सामान हटाउन उनी त्यहाँ पुगे । सो ठाउँमा अर्को समूहले क्रसर चलाउन सामान राखेको थियो । दुई समूहको बिचमा जग्गाको स्वामित्वबारे विवाद सुरु भएपछि कुटाकुट हुँदा उनको हत्या भएको हो ।

हत्या भएपछि इलाका प्रहरी कार्यालय दमकका डीएसपी निशान थापाले झापाका दुई जना एमालेका कार्यकर्ताविरुद्ध जाहेरी लिन अस्वीकार गरे । डीएसपी थापाले बुद्धि थापा र नम चेम्जोङको नाम हटाएर जाहेरी ल्याउन भनेका हुन् । उनीहरू एमालेका कार्यकर्ता हुन् । थापा एमाले प्रदेशसभा सदस्य होमबहादुर थापाका भाइ हुन् । उनको झापाका एमाले इन्चार्ज रोमनाथ ओलीसँग पनि नाता पर्छ । चेम्जोङचाहिँ एमालेको भातृ सङ्गठन युवासंघका पूर्व केन्द्रीय सदस्य हुन् ।

प्रहरीले सत्ता निकटहरूको नाम मेटाएर जाहेरी ल्याउन भनेपछि पीडित पक्षले दमकमा आन्दोलन चर्काए । आन्दोलनपछि बल्ल दुई जनाको नाममा पनि किटानी जाहेरी लिन प्रहरी सहमत भएको मृतका दाजु नवराज निरौलाले बताए । रातोपाटीसँग उनले भने– ‘जाहेरी लिए पनि हत्यामा संलग्नहरू खुलेआम हिँडिरहेका छन्, प्रहरीले पक्राउ गर्न चासो दिएको छैन ।’

सत्ता निकटस्थहरूलाई नियन्त्रणमा लिन र अनुसन्धान अघि बढाउन प्रहरीले आलटाल गरिरहेको पीडित परिवारको आरोप छ । हत्यामा संलग्न ७ जना विरुद्ध झापा जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भए पनि अहिलेसम्म ३ जना मात्र पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ उर्लाबारी घर भएका ४२ वर्षीय प्रकाश कार्की, ४९ वर्षीय ध्रुव गौतम र सङ्खुवासभाका २६ वर्षीय गणेश दर्जी छन् ।

हत्यामा संलग्न ४ जना अझै फरार छन् । जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले घट्नाबारे अनुसन्धान भइरहेको बताए । उनले भने, ‘प्राविधिक र म्यानुअल्ली पनि अनुसन्धान गरिरहेका छौँ ।’ घटनास्थल नजिकै रहेको सीसीटिभीको फुजेट सङ्कलन गरेर विश्लेषण गर्ने काम भइरहेको र फरार आरोपीहरूको खोजी भइरहेको चन्दले दाबी गरेका छन् ।

घटनास्थलमा रहेको मे।१ च २३९९ र प्रदेश–१–०१–००१ च ८६३१ नम्बरको गाडी पनि प्रहरीले बरामद गरेको छ ।