काठमाडौँ । नेपाली कांग्रेसको खुलातर्फको उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र मधु आचार्य विजयी भएका छन् । १५ औँ महाधिवेशनबाट आगामी चार वर्षे कार्यकालका लागि भएको निर्वाचनमा डा. भण्डारी र आचार्य निर्वाचित भएका हुन् ।
भण्डारीले ३,७३५ मत र आचार्यले २,३४२ मत पाएर विजयी भएका छन् ।
उनीहरूसँग प्रतिष्पर्धामा गोविन्द भट्टराई, दीपक गिरी, डा. चन्द्रमोहन यादव, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र धनराज गुरुङ प्रतिस्पर्धामा थिए ।
भण्डारी कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघबाट राजनीति गरेका नेता हुन् । साढे ३ वर्षअघि बुद्धनगरस्थित भण्डारी बस्ने डेरामा लागेको आगलागीमा परी गम्भीर घाइते भएका भण्डारीलाई निको बनाउन भारसम्म पुर्याउन परेको थियो ।
२०७८ साल मंसिरमा भएको १४ औँ महाधिवेशनमा भण्डारी डा. शेखर कोइरालाको समूहबाट उपसभापतिको उम्मेदवार बनेर पराजित भएका थिए । त्यसबेला उपसभापतिमा शेरबहादुर देउवा प्यानलका पूर्णबहादुर खड्का र डा. शेखर समूहका धनराज गुरुङले उपसभापति जितेका थिए ।
खुला उपसभापतिमा निर्वाचित आचार्य पेसाले इञ्जिनियर हुन् । काभ्रेका बासिन्दा आचार्य सभापति गगन थापाका विश्वासपात्रका रुपमा चिनिन्छन् । कांग्रेस काभ्रेको सभापति र १४ औँ महाधिवेशन तथा गत पुसमा सम्पन्न भएको विशेष महाधिवेशनमा कांग्रेसको केन्द्रीय सदस्य भएका थिए आचार्य । उनी अहिले कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानमा रहेर काम गरिरहेका छन् ।
आचार्यक दुवै जना कांग्रेसको राजनीतिमा छन् । उनकी श्रीमती कमला पन्त कांग्रेसको राष्टिय सभा दलको नेता छिन् । गत पुसमा विशेष महाधिवेशन हुँदा सुरुबाट सभापति थापालाई साथ दिने मध्यका एक आचार्यलाई सभापति थापाले उपसभापति वा महामन्त्री बनाउने बचन महाधिवेशन अगाडि नै दिएको बाहिरिएको थिए ।
समावेशी उपसभापतिमा चौधरी
त्यस्तै समावेशी तर्फको एक उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका छन् । जीवन परियार, रञ्जित कर्ण, फरमुल्लाह मन्सुर र सीता गुरुङलाई पछि पार्दै चौधरी उपसभापतिमा निर्वाचित भए । चौधरीले १,७४५ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी परियारले१,६५८ मत ल्याए ।
चौधरी ग्रुपका अध्यक्ष चौधरी २०७९ मा कांग्रेसबाट प्रतिनिधि सभामा नवलपरासीबाट प्रत्यक्ष निर्वाचित सांसद बनेका थिए । तर, ०८२ फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा भने उनी रास्वपा नेता विक्रम खनालसँग पराजित भए । त्यो भन्दा अगाडि चौधरी विभिन्न पार्टीबाट प्रतिनिधि सभा सदस्यमा समानुपातिक तर्फबाट सांसद बनेका थिए ।
चौधरी कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएका थिए । भने गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट पनि केन्द्रीय सदस्य बनेका थिए ।


प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…