कार्यदल बैठकमा अध्यक्ष ओलीको राजीनामा कहीँ कतै नमाग्ने सहमति भयोः महेश बस्नेत
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले आज बसेको कार्यदलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा नमाग्ने सहमति भएको बताएका छन्।
एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक सकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रतिवेदनमा अध्यक्ष ओलीलाई हटाउने कुरा कहीँ कतै नराख्ने सहमति भएको जानकारी दिएका हुन्।
‘एमाले फुटोस् भनेर कतिपय सदस्यले चाहेको परिस्थिति पनि छ। यी तमाम परिस्थितिलाई ध्यान दिएर कार्यदलको बलथलीको बैठकपछाडि तीन जना नेताहरूलाई हामीले आएका सबै मस्यौदा प्रस्तावहरू समेटेर एकीकृत प्रतिवेदन ल्याउन जिम्मेवारी दिएका थियौँ। त्यही आधारमा आज एउटा एकीकृत प्रतिवेदन आयो। त्यसमा छलफल गर्न मुख्य आधार बनायौँ। त्यसका सन्दर्भमा अझ अरू केही कुराहरू व्याख्या गर्ने’ उनले भने, ‘जस्तो ः अहिलेसम्म जुन ढंगले भ्रम गएको छ,अध्यक्षको राजीनामा माग्ने अध्यक्षको राजीनामा कहीँ कतै नमाग्ने अध्यक्षलाई हटाउने कुरा कहीँ कतै नगर्ने अध्यक्षको आलोचना कहीँ कतै नगर्ने त्यसपछि पार्टीले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक डाक्ने कि नडाक्ने, यस सन्दर्भमा पार्टीको सुदृढ एकता प्रदर्शन हुने गरी, पार्टीलाई जुझारु ढंगले अगाडि बढाउने गरी, वर्तमान सरकारको अधिनायकवादी, प्रतिशोधी, निरंकुश र जनविरोधी शैलीको सशक्त आन्दोलन गर्ने ढंगले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने सहमति भएको छ।’
यस्तै एमालेका अर्का सचिव राजन भट्टराईले सोमबार बस्ने केन्द्रीय कमिटी बैठकमा एउटै प्रतिवेदन आउने बताए।
‘तर, अहिले आएका प्रतिवेदनलाई परिमार्जन गरिनेछ’, उनले भने।
प्रतिवेदनलाई अन्तिम रूप दिन अहिले फेरि कार्यदलको बैठक बस्ने अर्का सचिव छविलाल बिश्वकर्माले बताए।
‘२९ पेजको प्रतिवेदनलाई परिमार्जन गरेर पास गर्ने, तलबाट आएका सुझावलाइ अनुसूचीमा राख्ने र तत्काल अध्यक्ष ओली हट्ने कुरा नराख्न सहमति कार्यदलमा भयो’, उनले भने।

प्रतिक्रिया दिनुहोस्: