काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले फोनमार्फत महिलामाथि दुर्व्यवहार गरेको भनिएको अडियोबारे छानबिन सुरू भएको छ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्ति जारी गर्दै केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको बताए।
छानबिन जारी रहँदासम्म सांसद सुनारलाई कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी नहुन पनि निर्देशन दिएको आचार्यले बताएका छन्।
‘यस विषयको सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको छ। अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका खातिर, उक्त छानबिन निष्कर्षमा नपुग्दासम्मका लागि उहाँलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइन्छ,’ आचार्यको विज्ञप्तिमा भनिएको छ।
सार्वजनिक भएको अडियोमा महिलामाथि दुर्व्यवहार गर्ने, धम्की दिने, लेनदेन समेतको कुराकानी छ।
यसलाई रास्वपाले यस्ता प्रकृतिका आरोपलाई सामान्य रूपमा लिन नसकिने पनि उनले उल्लेख गरेका छन्।
‘विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताको पक्षमा दृढतापूर्वक उभिएको रास्वपाले आफ्ना कुनै पनि तहका सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता प्रकृतिका आरोपहरूलाई सामान्य रूपमा लिन सक्दैन। महिलामाथि हुने कुनै पनि प्रकारका दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन र फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको तथ्य हामी पुनः स्पष्ट पार्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ।
सुनारमाथि राज्यको अन्य निकायबाट हुने अनुसन्धान प्रक्रियामा पनि पार्टीले सहयोग गर्ने महामन्त्री आचार्यले बताएका छन्।




प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…