ताजा अपडेट
समाचार

गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणमा

गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणमा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणमा गएकाछन् ।

सोमबार दिउँसो गृहमन्त्री गुरूङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारततर्फ प्रस्थान गरेका हुन्।

बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) को बैठकमा सहभागी हुन उनी भारत भ्रमणमा निस्किएका हुन्।

बैठकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सहभागी हुनेछन्।
त्यस बैठकमा लागुपदार्थ ओसारपसार, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी, आतङ्कवाद, विपद्जन्य सुरक्षा, साइबर अपराधलगायतका अन्तरदेशीय एवं क्षेत्रीय सुरक्षा चासोका विषयमा सहकार्य प्रवर्द्धनका लागि छलफल हुनेछ ।

मन्त्रालयका अनुसार, त्यस अवसरमा सुरक्षा क्षेत्रका बिमस्टेकस्तरीय विभिन्न संयन्त्रमा छलफल भएका विषय तथा दस्तावेजलाई पारित गर्ने र घोषणापत्र समेत जारी गरिने छ ।

बैठकमा जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दो प्राकृतिक विपद्को जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणालीको सुदृढीकरण तथा एकीकृत उद्धार र राहतका लागि क्षेत्रीय सहकार्य बढाउने विषयलाई नेपालका तर्फबाट प्राथमिकता दिइने जनाइएको छ ।

गृहमन्त्रीका रुपमा उनको यो पहिलो औपचारिक वैदेशिक भ्रमण हो । बिमस्टेकअन्तर्गत महत्वपूर्ण सहकार्यको रूपमा रहेको सुरक्षा क्षेत्रको उच्चस्तरीय संयन्त्रको रुपमा रहेको उक्त बैठक पहिलोपटक भारतमा आयोजना हुन लागेको हो । उक्त संयन्त्रको परिकल्पना सन् २०१८ मा काठमाडौँमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनले गरेको थियो ।

गृहमन्त्री गुरुङले भ्रमणका क्रममा आफ्ना समकक्षीसँग भेटघाट र द्विपक्षीय वार्ता गर्ने कार्यसूची रहेको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री गुरूङ यही असोज २८ गते बुधबार स्वदेश फर्किने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…