सहकारी प्रकरणमा छविलाल जोशीको बयान : करिब ७ घण्टामा ५७ सवाल

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीसँग मंगलबार जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा करिब ७ घण्टा बयान लिइएको छ । सरकारी वकिल कार्यालय रूपन्देहीले मंगलबार बिहान ११ बजेदेखि साँझ साढे ६ बजेसम्म मुद्दाका विभिन्न ५७ सवालमा बयान लिएको हो ।
रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत भएको अपचलनमा जोशी पनि संलग्न रहेको भन्दै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलको रोहवरमा बयान लिइएको हो । पौडेलका अनुसार जोशीसँग सहकारीका विषयमा लिनुपर्ने बयान लिइसकिएको छ ।
बयानमा जोशीले पूर्वगृहमन्त्री रवि लामिछानेका बारेमा समेत केही विषयहरू बोलेको बताइएको छ । ‘हाम्रो अनुसन्धानका लागि आवश्यक बयान सकिएको छ, अब प्रहरीले अनुसन्धान गर्नेछ,’ उनले भने ।
इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डीएसपी विजयराज पण्डित, अनुसन्धान अधिकृतहरू यमलाल बन्जाडेसहित प्रहरीहरूले जोशीको बयान लिएका छन् । जोशीलाई ६ असोजमा जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको थियो ।
सुप्रिम सहकारीबाट समेत जोशीको नाममा २ करोड ५० लाख ऋण गएको देखिएको छ । जोशीलाई सोमबार बयानका लागि रुपन्देही ल्याइएको हो । सहकारी अपचलनका विषयमा पूर्वडीआईजी जोशीसँग बयान लिइरहँदा सहकारीपीडितहरूले नाराबाजीसहित प्रदर्शन गरेका थिए ।
सुप्रिमको बुटवल शाखा व्यवस्थापक सागर केसी र सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी राई) लाई राजनीतिक संरक्षणमा भगाइएको आरोप उनीहरूले लगाएका छन् ।
अदालतअगाडि विरोध प्रदर्शन गरिरहेका पीडितहरूलाई सरकारी वकिल कार्यालयअगाडि जान खोज्दा प्रहरीले रोकेको थियो । जोशीलाई भैरहवास्थित सरकारी वकिल कार्यालयमा बयान लिइए पनि इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्: