जुवा खालबाट समातिएका तिब्बतीयनसँग नेपाली नागरिकता
काठमाडौँ । बौद्धमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका ७ जनामध्य एक जना तिब्बतीयन नागरिक सोनाम वाङ्गेलको साथमा नेपाली नागरिकता फेला परेको छ । २४ वर्षीय सोनामले जिल्ला प्रशासन कार्यालय धादिङबाट सोनाम तामाङको नाममा नागरिकता लिएको भेटीएको प्रहरीले जानकारी दिए ।
असोज ४ मा काठमाडौँ–६ बौद्ध तिनचुलीमा सोनामसहित ७ जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । उनीहरू मेशिन मार्फत ‘फिस सुट गेम’ खेल्दै थिए । नागरिकताबारे सोधपुछ गर्दा सोनामले भने, ‘४ लाख तिरेर किनेको हुँ ।’
तिब्बतको आम्दो घर भएका सोनामले धादिङको नेत्रावती वडा नम्बर–१ स्थायी ठेगाना र बुवा हर्कमान तामाङ उल्लेख गरेर नागरिकता लिएका हुन् । नागरिकतामा उल्लेखित बुबालाई सोनामले नचिनेको प्रहरीलाई बताएका छन् । २०८१ असार ६ मा जारी नागरिकता चारजना बिचौलिया र जिल्ला प्रशासन कार्यालय धादिङका एकजना नायब सुब्बाले मिलेर बनाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
सोनामलाई नागरिकता बनाउन सहयोग गर्ने चारजना बिचौलियालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।
जुवाखालबाट पक्राउ परेका अन्य भारत घर भएर काठमाडौँको महांकाल बस्ने छिरिङ डुण्डुप, सिन्धुपाल्चोकको हेलम्बु घर भएका छिरिङ वाङ्दी शेर्पा, धादिङ खनियाबास घर भएका रामेश्वर रिजाल र नेत्रावती घर भएर मनमैजु बस्ने मदन तामाङ छन् । उनीहरुविरुद्ध धादिङ प्रहरीले नागरिकता सम्बन्धी कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान थालेको छ । सोनामले छिरिङ डण्डुपलाई नागरिकता लिनका लागि एकमुष्ट चार लखा दिएको प्रहरीसँग बताएका छन् ।
कफिशपमा औँठाछाप
सोनामको नागरिकता नम्बर हो ‘२६–०१–८१–०३२१७’ । सो नागरिकता लिन उनी जिल्ला प्रशासन कार्यालय धादिङ पनि जानु परेन । बिचौलियाले उनलाई ठमेलस्थित कफिशपमा औँठाछाप लिएका हुन । ४ लाख नगद दिएको दुई महिनापछि छिरिङ डुण्डुपको समूहले काठमाडौँमा नै नागरिकता ल्याएर दिएको उनले प्रहरीलाई बताएका छन् ।
२४ वर्षीय सोनामले अहिले जुवा मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौँको थुनामा छन् । जुवा खालबाट प्रहरीले १२ लाख नेपाली रुपैयाँ, २ हजार डलर र ३ हजार चिनियाँ युआन बरामद गरेको छ ।
प्रतिक्रिया दिनुहोस्: