Swornakshar Logo

अमेरिकाले सन्दीपलाई दिएन भिसा, विश्वकप खेल्न नपाउने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ ।

अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकप क्रिकेट प्रतियोगिताका लागि क्यानले उनलाई टिममा सहभागी गराएको थियो तर, अमेरिकाले भिसा दिन अस्वीकार गरेको हो । क्यान अध्यक्ष चतुरबहादुर चन्दले भिसाका लागि फेरि पहल गर्ने बताए ।

चन्दले सम्पूर्ण प्रक्रिया पूरा गरे पनि भिसा नदिँदा अचम्ममा परेको बताए । उनले भने, ‘आईसीसीको पत्रसमेत हामीले समावेश गरिसकेका थियौँ । आईसीसीले पनि उनलाई टिममा सहभागी गराउन अनुमति दिइसकेको छ ।’ उनले किन भिसा दिइएन भन्ने विषयमा आफू जानकार नरहेको बताए ।

लामिछानेले पनि आफूले भिसा नदिएको विषय फेसबुकमा उल्लेख गरेका छन् । उनले यसअघि भिसा नदिएको विषय पनि स्मरण गरेका छन् । उनले अमेरिकाले भिसा नदिएपछि समर्थकसँग माफी मागेका छन् ।

बलात्कार आरोपमा जिल्ला अदालतबाट दोषी ठहर भएपछि लामो सयम क्रिकेट बाहिर रहेका उनी उच्च अदालतबाट सफाइ पाएसँगै टिममा जोडिने प्रयासमा थिए । क्यानले पनि उनको निलम्बन फुकुवा गरी विश्वकप खेल्ने टिममा समेट्ने प्रयास गरिरहेको छ । तर, भिसा नपाएपछि उनले विश्वकप नखेल्ने देखिएको छ ।