Swornakshar Logo

कोभिड–१९ संकटकाल अन्त्य भएको विश्व स्वास्थ्य संगठनको घोषणा

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड–१९ को संकटकाल अन्त्य भएको घोषणा गरेको छ । कोभिड–१९ महामारी अब अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्य आपतकालीन अवस्था (पीएचईआईसी) नरहेको घोषणा गरेको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले जेनेभाबाट भर्चुअल पत्रकार सम्मेलनमा कोभिड १९ को विश्वव्यापी संकटकाल समाप्त भएको घोषणा गरे ।

डब्ल्यूएचओले पहिलो पटक जनवरी ३०, २०२० मा कोभिड–१९ लाई उच्च स्तरको ‘कोभिड संकटकाल’ घोषणा गरेको थियो । त्यसयता विश्वव्यापी स्वास्थ्य विशेषज्ञहरूको एक समितिले हरेक तीन महिनामा हुने बैठकहरूमा सावधानीको चेतावनी जारी गर्दै आएको छ ।

कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिरहेको समय सन् २०२० को मार्चमा डब्ल्यूएचओले कोभिड–१९ लाई महामारीको रूपमा घोषणा गरेको थियो ।

कोभिड–१९ बाट विश्वभर कम्तीमा ७० लाख मानिसको मृत्यु भएको डब्ल्यूएचओको तथ्यांकमा उल्लेख छ ।